बुटवल। जुम्लामा बिगत १७ दिनदेखी अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यको प्रदेश मन्त्रीदेखि मेडीकल कलेजका सञ्चालकसम्मले चिन्ता ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लव नेपाल प्रदेश नम्वर पाँचले सोमवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाँच नम्वर प्रदेशका सामाजीक विकास मन्त्री सुर्दशन वरालले डा.के.सी. को स्वास्थ्य प्रती कसैले खेलवाड गर्न नहुने बताए ।
मन्त्री वरालले शिक्षा तथा स्वस्थ्य जस्ता अति संवेदनशी क्षेत्रलाई असर पार्ने गरी बन्द हड्ताल गर्नु उचित नभएको समेत उल्लेख गरे । उनले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसिको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको बताए ।
मन्त्री बरालले कुनै पनि समस्याको समाधान संवादबाट मात्र सम्भव भएको भन्दै राज्यले तदारुकता देखाउनुपर्नेमा जोड दिए । आफूले पनि माथेमा आयोगको अध्ययन गरेको भन्दै माथेमा आयोगले सिफारिस गरेका अधिकांश बुदाहरु कार्यान्वयन गर्न सकिने उनले बताए । त्यसैगरी माथेमा आयोगको प्रतिवेदन प्रति संघीय सरकारलाई स्पष्ट धारणा सार्वजनिक गर्न समेत मन्त्री बरालले आग्रह गरे । काठमाण्डौमा मात्र मेडिकल कलेज संचालनमा ल्याएमा प्रदेशहरुमा स्थापना गरिने मेडिकल कलेजहरुमा दक्ष जनशत्तिको कमि हुने भएकाले यसतर्फ सचेत हुनुपर्ने सुझाव मन्त्री बरालको थियो ।
शिक्षा, स्वास्थ्यलाई निजी क्षेत्रको हातमा छोड्न नहुने भन्दै मन्त्री वरालले प्र्रदेश नम्वर पाचका निजी स्वास्थ्य संस्थाहरुसंग समन्वय गर्दै अघि वढ्ने बताए । नेपाल चिकित्सक संघ लुम्विनीका अध्यक्ष प्राध्यापक डाक्टर नन्दा गुरुङ्गले गोविन्द केसिले गरेको १५ औं पटकको अनसनबाट सम्पूर्ण समस्याको दीगो समाधान गरी अनसनलाई सदाका लागि अन्तिम बनाउनुपर्नेमा राज्यले त्यस तर्फ ध्यान दिन नसकेको बताइन ।
लुम्विनी मेडिकल कलेज पाल्पाका अध्यक्ष गोपाल बहादुर पोख्रेलले डाक्टर गोविन्द के.सीका कतिपय मागहरु जीवन निर्वाहको सिद्धान्त विपरित भएको दावी गरे । त्यसैगरी साक्षात्कार कार्यक्रममा सहभागी देवदह मेडिकल कलेजका अध्यक्ष रजनिस जिन्दलले डाक्टर केसिको माग जे जसो भए पनि उहाँको जिवन रक्षा महत्वपूर्ण पक्ष भएको भन्दै त्यस तर्फ सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।
अफिन लुम्विनीका उपाध्यक्ष समेत रहेका युवा अभियान्ता मुक्तीराज पौडेलले जनताका माग प्रति सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाए ।