arrow

विद्युतको ट्रान्सफर्मर बाख्राको टाट्ना बनेको देख्नुभयो कुलमानज्यू ?

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ साउन १ मंगलबार
transfermer-misuse.jpg

पुनर्वास। कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा जडानमा सम्बन्धित निकायले बेवास्ता गर्दा लाखौं रुपैयामा खरिद गरिएका ट्रान्सफर्मर प्रयोगबिहिन भएका छन्। एकातिर ट्रान्सफर्मर प्रयोगमा आएको छैन भने अर्कातिर स्थानियले विद्युतको समस्या झेल्दै आएका छन् । 

जिल्लाको दक्षिण सिमान्त गाउँ धनसिंगा र मोतियाफाँटाको न्यून विद्युत भोल्टेजको समस्या हल गर्न खरिद गरिएका टान्सफर्मर अहिले गाईबस्तुको घाँस राख्ने टाट्नो भएको छ। 

पुनर्वास नगरपालिका ८ मोतियाफाँटा र वडा नम्बर ९ धनसिंगामा विद्युत आपूर्तिमा समस्या भएपछि स्कोथानियको माग अनुसार नगरपालिकाले झन्डै १० लाख खर्चेर डेढ वर्ष अघि ट्रान्सफर्मर खरिद गरेको थियो ।  

खरिद गरेको डेढ वर्षसम्म पनि ट्रान्सफर्मर जडान हुन नसक्दा पंखा समेत नचल्ने समस्याले स्थानिय दुखी बनेका छन् । जडान गर्न आबश्यक पोल, तार लगायतका अन्य उपकरण र सामाग्री खरिद गर्न नसकिए पछि लाखौंका ट्रान्सफर्मर प्रयोग बिहिन बन्न पुगेका हुन । 

ट्रान्सफर्मर खरिद गरिएको लामो समय बित्दा समेत जडान नगर्दा जनताले विद्युतको मार भोग्दै आएको स्थानिय भोजराज शर्माले बताए । उनले भने ' पैसा नै नपुगेको कारण जडान नभएको कि अरु नै केही कारण हो ? यति लामो समयसम्म सम्बन्धित निकाय किन मौन भएर बसेको छ ।'  विद्युत प्राधिकरण र नगरपालिकाले प्रयोग बिहिन बनेका ट्रान्सर्फमर अबिलम्ब जडान गर्नु पर्ने स्थानिय शर्माले बताए ।

खरिद गरिएको डेढ वर्षसम्म जडान हुन नसक्नुको कारणबारे उपभोक्ता समितिका अध्यक्ष हरिशर्मा जैसी भन्छन् ' नगरपालिकाले उपलब्ध गराएको रकमले ट्रान्सफर्मर त ल्याइयो तर त्यसको लागि आबश्यक पर्ने पोल, तार, ऐंगल लगायतका अन्य सामाग्री र उपकरण खरिद गर्न बजेट अभाव भए पछि जडान हुन नसकेको हो ।'

विद्युतिकरणको काम विद्युत प्राधिकरणले नै गर्ने भन्ने भएकाले र समयमा जडान नगरिदिएकाले नगरपालिकाको बजेटमा ट्रान्सफर्मर खरिद गरिए पनि  समस्या समाधान हुन नसकेको पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापाले बताए । 

पुनर्वासका यी दुई गाउँमा खरिद गरि ल्याइएका ट्रान्सफर्मर प्रयोगबिहिन हुँदा गाउले अवरुद्ध नहुने विद्युतको सेवाबाट बञ्चित बन्न पुगेका छन् । आबश्यक मात्रामा बिधुत आपूर्ति हुन नसक्दा यहाँका स्थानिय मर्कामा परेकाछन । 

पुनर्वासको बिचफाँटा, धनसिंगा, मोतियाफाँटा लगायतका थुप्रै गाउका जनता डिम लाइटका कारण सास्ती खेप्दै आएका छन् । साधारण पंखा समेत चलाउन नसक्ने क्षमताको विद्युतका कारण स्थानिय मारमा परेका हुन् । 

विद्युत आपुर्तिमा देखिएको समस्या सल्टाउन लाखौं रुपैया खर्चेर खरिद गरिएका ट्रान्सफर्मर घाँस दाउरा राख्न र बाख्राको टाट्नाको रुपमा प्रयोगमा आउँदासम्म विद्युत प्राधिकरण जनताको दुख घटाउन लागिपरेको छैन। 

स्थानिय निकायको बजेटमा खरिद गरिएका ट्रान्सफर्मर लामो समय देखि अलपत्र र प्रयोग बिहिन भइ दुरुपयोग हुँदै आएका छन् । प्रयोगमा ल्याउन नेपाल विद्युत प्राधिकरण र अन्य सरोकारवाला निकायले बेवास्ता देखाएका कारण सार्बजनिक महत्वका योजना थला पर्दै आएका छन् ।

स्थानियहरुले विभिन्न माध्यम मार्फत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जानकारी गराउन खोजे पनि स्थानिय अधिकारीहरुको असहयोगले सम्भव नभएको बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ