प्रहरी दमन देखेर डा. केसीले रुँदै भने - मर्न तयार छु, स्थानीयलाई दु:ख दिन चाहन्न
प्रकाशित २०७५ साउन ३ बिहिबार
280
Shares
काठमाडौं। डा. गोविन्द केसीको समर्थकको दमनमा उत्रिएर प्रहरीले स्थानीय नागरिक, अस्पताल प्रशासनका कर्मचारी, विद्यार्थी, डाक्टर, नर्स लगायतमाथि हस्तक्षेप, धरपकड, कुटपिट गर्न थालेकोमा डा. केसी चिन्तित र निराश देखिएका छन् ।
प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पसि केसीका समर्थक स्थानीय, डाक्टर र विद्यार्थीमाथि अन्धाधुन्द लाठीचार्ज गरि करिव ४० जना घाइते बनाएपछि तथा अस्पताल तोडफोड गर्दै अस्रुग्याँस प्रहार गरेपछि डा. केसीले बरु आफु जस्तो सुकै पिडा भोग्न तयार रहेको तर आफ्ना समर्थक तथा स्थानीयको दु:ख हेर्न नसक्ने आफ्ना निकटलाई बताएका छन् ।
स्वास्थ्य शिक्षामा आमुल परिवर्तनको माग सहित सत्याग्रहमा बसेका डा. केसीलाई कुनै पनि हालतमा काठमाडौ लैजान प्रहरीले अस्पताल परिसरमा लाठिचार्ज गर्नुका साथै अश्रुग्याँस समेत प्रहार गरेपछि भावुक बनेका उनले आँसु झार्दै भने ‘ स्थानीय, विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन बरु म मर्न तयार छु, जतिसुकै पिडा भोग्न तयार छु। म बरु काठमाडौं जान्छु ’ अनसनरत डा. केसी निकटले बताएका छन्।
आफूलाई काठमाडौं लैजान प्रहरीको मृत्यु भएको अफवाह फैलाएकोमा पनि केसीले प्रधानमन्त्री ओलीप्रति दया देखाए।
लाठीचार्ज गर्दा दुई दर्जन बढि घाइते भएका छन् । लाठी चार्जबाट १० जनाको टाउको फुटेको छ भने एक जना गम्भिर बनेका छन्। प्रहरीले अस्पतलाको वार्डमा पसेर विरामी कुरुवा लगायत अन्यलाई लाठीचर्ज गरेको हो । लाठीचार्जबाट अस्पताल भित्र लाखौ बराबरको क्षती भएको छ ।
अस्पताल भित्र लाठीचार्ज गरेर प्रहरी बाहिर निस्किएको छ। स्थानीयहरु डा. केसीको माग पुरा नभएसम्म उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनबाट लान नदिने भन्दै अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् । अस्पतलमा प्रहरीले क्षती पुराएकोमा क्षतिपुर्ति दिनुपर्ने र ओली सरकारले माफि माग्नु पर्ने भन्दै प्रदर्शन गरिरहेका छन् ।
केसीलाई काठमाडौं पठाउन सहजीकरण गर्न गएका कर्णालीका मुख्यमन्त्रीलाई आफू माग पुरा नभएसम्म काठमाडौं नजाने जानकारी दिएर पठाए लगत्तै प्रहरीले अस्पतालमा कार्वाही थालेको थियो।
यसअघी विद्यार्थीहरुले प्रहरीलाई अस्पताल हाताबाट बाहिर ल्याउन सफल भएको डा नारायण कर्णेलले जानकारी दिएका थिए।
त्यसैगरी अस्पताल हाता बाहिर जुम्ली नागरिक समाज र आमा समूहले चर्को नाराबाजी गर्दै प्रहरी प्रशासनलाई हालयकायल बनाएका थिए। उनीहरुले अपहरण गर्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् ।
डा केसीले पनि आफू यथास्थितिमा कुनै पनि हालतमा काठमाडौं नजाने बताउँदै आएका छन् । केसीले आफ्नो आन्दोलन तुहाएर सरकारले आफू खुशी संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गराउने उद्धेश्यमा लागेको भन्दै प्रतिवाद गरेका छन् ।