arrow

टिपर आतंक : सिड्नी युनिभर्सिटीमा पढ्ने सपना अधुरै रहयो अस्मिताको  

बुबा नरेन्द्र भन्छन्-देब्रे हात टेकेर उठिसकेकी अस्मितालाई व्याक गरेर किचेको थियो टिपरले 

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ साउन ३ बिहिबार
asmita_story.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा टिपर आतंक भन्दै कयौँ दिन मूलधारका पत्रिकामा ठूल–ठूला शीर्षकमा खबर छापिए । तर, सरकारले झारा टार्ने उपाय मात्रै गरिदियो । दिउँसोको समयमा ट्रिपर चलाउन नपाईने, राति मात्रै चलाउनु पर्ने । त्यो निर्णय पनि आधिकारिक होईन भन्ने कुराहरु पनि चलिरहेकै छन् । 

साउन १ देखि राति मात्रै ट्रिपर चलाउने भन्ने हल्ला थियो, खै दिउँसो पनि ट्रिपर चलिरहेकै छन् त, कसले रोक्यो खै ?–गएको जेठ ३० गते काठमाडौंको जडिबुटीमा ट्रिपरले किच्दा मृत्यु भएकी अस्मिता भण्डारीका बुबा नरेन्द्र भण्डारीले हाम्राकुरासँग भने । 

हामीले नै धेरै जोडबल गरेपछि सरकार अथवा स्थानीय प्रशासनले यस्तो घोषणा गरेको हो, उनले अगाडि भने, ‘त्यो पनि हचुवा देखियो । यसबाट म सन्तुष्ट छैन ।  कुरा मात्रै धेरै गर्ने रिजल्ट देखिएको खै ? चालकलाई मात्रै थुनेर हुन्छ ।’

उनले आफ्नो छोरीको मृत्यु र त्यसपछिको पीडाबारे धेरै कुरा नगर्न भने । मेरो छोरी त अब केही गरी पनि फर्किदैन, उनले अगाडि भने, ‘हाम्रो भनाई के हो भने, अब उपरान्त बाटोमा यसरी कसैका छोरा छोरीले मृत्युवरण गर्नु नपरोस् ।’

घटनाक्रमबारे उनले धरै भन्न चाहेनन् । ‘जडिबुटीको मूख्य चोकमा जहाँ सबैभन्दा बढी जाम र भीड हुन्छ । त्यो भीडबीचमा ट्रिपरले स्कुटरलाई हान्यो । स्कुटरबाट झरेकी छोरी (अस्मिता) देब्रे हात टेकेर उठिसकेकी थिईन् । व्याक गरेर किचिएको थियो । त्यो दृष्य कसैले हेर्न सक्छ ?’ कानुन खै ? घाईते भएपछि आजीवन उपचार गर्नु पर्ने मानसिकताले चालकले व्याक गरेर मान्छे मार्ने गरेका छन् ।

घटना 
जेठ ३० गते विहानै जडिबुटीमा अस्मिता भण्डारी (काभ्रे) सवार स्कुटरलाई टिपरले ठक्कर दियो । स्कुटर पछाडि बसेकी अस्मिता भुँईमा बजारिईन् । उठिसकेकी उनलाई बा ४ ख ३५५८ नम्बरको टिपरले व्याक गरेर किच्यो । उनी सवार बा ७० प ९३९९ नम्बरको स्कुटर चालक थिए आशिष जोशी । टिपर चालक पृथ्वीनारायण नापित ।

भक्तपुरबाट काठमाडौं आउँदै गरेको टिपरले आफ्नै दिशातिर आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि  टिपर जल्यो । चालकमाथि कारबाही चल्यो । त्यसपछि पनि टिपर आतंक रोकिएन । यो कुरा प्रधानमन्त्री र गृहमन्त्रीलाई धेरै पटक सुने । तर, तातो लागेन ।  

अधुरै रहयो सिड्नी युनिभर्सिटीमा पढ्ने सपना 
अस्मिता डेढ महिनापछि अष्ट्रेलिया जाने पक्का पक्की थियो । अष्ट्रेलियाको प्रसिद्ध सिड्नी युनिभर्सिटीमा मास्टर्स पढ्ने कुरा थियो । उनका बुबा नरेन्द्रले भने, ‘भिसाको प्रक्रिया पूरा भईसकेको थियो । भिसा आउन एक हप्ता मात्रै बाँकि थियो ।’ नरेन्द्र गैरीधारामा रहेको सान ईन्टरनेशनल कलेजको व्यवस्थापन हेर्छन् । त्यहाँ काम गरेको १७ वर्ष भयो भन्छन्, उनी। बुबा भएकैले अस्मितालाई प्रमाणपत्र तह र स्नातक तह पढ्न अन्त जानु परेन । उनले सानबाटै बीबीए गरेकी थिईन् । स्कुले जीवन भने उनले कीर्तिपुरमा रहेको ल्याब्रोटरीमा विताईन् । 

ल्याब्रोटरीमा निकै महंगो थियो, पढाई शुल्क । नरेन्द्रले त्यो बेलाको खर्च सम्झिन भ्याएनन् । त्यसका लागि जम्मै फाइल पल्टाउनु पर्छ, भने । छोरीको मृत्युले निकै विह्वल छन्, उनी । उनका दुई सन्तान्, छोरी अस्मिता र छोरा आशिष । आशिषले पनि म्यानेजमेन्ट नै पढे । उनी पहिले सनराईज बैंकमा थिए, अहिले एनसीसी बैंकमा छन् । 

नेपालमा पक्का भएको जागिर पनि गरिनन् अस्मिताले 
अस्मिताले जनता बैंकमा पक्का भएको जागिर पनि गरिनन् । कारण उनको विदेश पढ्न जाने धोको थियो । उनैले भनेकी थिईन्, ‘दुई चार महिनाका लागि जागिर खानु राम्रो हुँदैन । कम्तिमा पनि एक वर्ष बस्नै पर्छ । म विदेश जाने नै भएकाले दुई–चार महिनाका लागि एग्रिमेन्ट गर्नु राम्रो हुँदैन ।’ अष्ट्रेलिया जाने दिन नजिकिँदै थियो । तर, ट्रिपर आतंकको लपेटबाट बच्न सकिनन् । 

आतंकबारे प्रधानमन्त्री कार्यालय र गृह सचिवलाई पटक-पटक भने 
अस्मिताका बुबाले ट्रिपर आतंकबारे प्रधानमन्त्री कार्यालयका सचिव र गृह सचिवलाई पनि निकै पटक सुनाए । तर, उहाँहरुबाट केही भएन, उनले भनेका छन् । पछि हामीले जोड बल गरेपछि स्थानीय प्रशासन तातियो र राति मात्रै ट्रिपर चलाउने भन्यो । तर, त्यो आधिकारिक निर्णय होईन पनि भन्छन्, मान्छेहरु । कुरा के हो ? हामीले बुझ्न सकेका छैनौँ । यो देशको बारेमा कुरै गरि साध्य छैन । अस्मिताकी आमा प्रधानमन्त्री कार्यालयमै काम गर्छिन् । उनले कति पटक सुनाईन् होला, पीडा ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ