arrow

जुम्ला घटना एवं संसद छल्ने सरकारको निर्णय विरुद्ध कांग्रेसको विज्ञप्ति

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार

काठमाडौं । जुम्ला घटना एवं संसद छल्ने सरकारको निर्णय विरुद्ध कांग्रेसको विज्ञप्ति निकाली कडा प्रतिक्रिया जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वक्तव्य निकाली सरकारी रबैयाप्रति खेद प्रकट गरेका छन् । शर्माको विज्ञप्ति जस्ताको तस्तै:

जुम्लामा भएको आजको सरकारी दमन तथा संसद छल्ने गरी बैठकलाई ८ दिन पर सारिएको विषयलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ । चिकित्सा शिक्षा सुधारका लागि नेपाली कांग्रेसको सरकारले जारी गरेको अध्यादेश भन्दा विपरीत विधेयक ल्याउने तर्फ सरकार लाग्नु र क्रमशः अधिनायकवाद उन्मुख शैली विकसित हुँदै गएका कारण स्थिति जटिल बन्दै गएको हाम्रो निष्कर्ष छ ।

डा. के.सी.को जीवन रक्षा गर्नु हामी सबैको दायित्व हो, तर उपचारका लागि काठमाडौं ल्याउने क्रममा जुम्लाको अस्पतालमै प्रहरी प्रवेश गरेर लाठी चार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने, अस्पतालको लाखौंको सम्पत्तिमा क्षति पुर्याउने जस्ता सरकारको दमनकारी कार्यको नेपाली कांग्रेस भत्र्सना गर्दछ । चिकित्सक, नर्स, विद्यार्थी एवं कैयन सर्वसाधरण प्रहरीको आक्रमणबाट घाइते भएका छन् । हामी यो घटनामा घाइते हुनेहरुको स्वास्थ्यलाभको कामना गर्दछौँ ।

जुम्लामा गम्भीर घटना भइरहँदा डा. के.सी. को माग सम्बोधन गर्नुको साटो प्रतिपिक्षीसँग परामर्श गर्ने परम्परा विपरीत प्रतिनिधि सभा बैठक स्थगित गर्ने सरकारको गैर जवाफदेही क्रियाकलापप्रति हामी खेद प्रकट गर्दछौँ । समाधानको खोजी गर्ने थलो संसदलाई छलेर विषयलाई विषयान्तर गर्न सकिने भ्रमबाट मुक्त हुन समेत नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ ।

डा. गोविन्द के.सी.को जीवन रक्षा र अध्यादेशको हुबहु कार्यान्वयन गर्न सदन र सडकमा नेपाली कांग्रेसको विरोध जारी रहनेछ । सरकारको यस्ता गैर जिम्मेवार रवैयाको विरोधमा बढ्दो जनसमर्थन आगामी दिनमा अझ घनीभूत हुने पनि विश्वास गर्दछौँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ