arrow

काठमाडौं ल्याइएका डा केसीले भने, 'अस्पताललाई युद्धभुमी बनाएर अपहरण शैलीमा ल्याइयो '

नेकपाका कार्यकर्ताले अस्पतालमै आगो लगाउने धम्की पछि केसी काठमाडौं आउन भए राजी

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
dr-govinda-kc-tuth-15thfast.jpg

काठमाडौं। करिव ३ सातादेखि अनशनमा रहेका डा गोविन्द केसीले नेकपा नेतृत्वको सरकारले बल प्रयोग गरि अस्पताललाई युद्धभुमी बनाएर अपहरण शैलीमा काठमाडौं ल्याउँदा गरिएको ज्यादतीको घोर भत्सर्ना गरेका छन्। प्रधानमन्त्री खड्ग प्रसाद ओलीको नेतृत्वको सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत गरिएको गरिएको कार्यको केसीले भत्सर्ना गरेका हुन्। 

त्रिवि शिक्षण अस्पतालमा ल्याइएपछि सहयोगी मार्फत सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा केसीले अहिलेसम्मको ऐक्यवद्धताको लागि सार्वजनिक रुपमा धन्यवाद दिदै थप ऐक्यवद्धताको लागि अपिल समेत गरेका छन्। 

सरकारले काठमाडौं ल्याउन जवर्जस्ती गरेपनि आफ्नो माग पुरा गराउन कुनै तदारुकता नदेखाएकोमा रुष्ट केसीले अस्पतालमा पत्रकारसँगको कुराकानीपछि आफूले कुनै औषधी नलिने र मोनिटर पनि प्रयोग नगर्ने बताएका छन्। श्वास फेर्न गाह्रो हुँदा अक्सिजन लिने बाहेक अन्य कुनै पनि औषधी नलिने पनि केसीले प्रष्ट पारेका छन्। 

छलछाम र कपटको नमुना केपी सरकारले जुम्लामा देखाएको केसीका सहयोगीहरुले बताएका छन्। प्रहरीको एक व्यक्तिलाई गोली प्रहार भएर मृत्यु भएको झुटो जानकारी फैलाएर केसीलाई मनोवैज्ञानिक दवावमा पारि काठमाडौं ल्याइएको केसीका सहयोगीले पत्रकारलाई जानकारी दिए। काठमाडौं ल्याउने बेलामा कर्फ्युको स्थित सिर्जना गरेर आफूहरुलाई काठमाडौं ल्याइएको ति सहयोगीले बताए।

सत्तारुढ दलका कार्यकर्ताले त केसी काठमाडौं नगए कर्णाली स्वास्थ्य  विज्ञान प्रतिष्ठान नै जलाइदिने धम्की दिएपछि केसी रुदै काठमाडौं फर्किएको केसीका सहयोगीले बताए। बफ्नो कारणले अर्बौको सम्पतिमा क्षती नपुगोस भनेर केसी काठमाडौंबाट गएको आर्मीको हेलिकप्टरमा काठमाडौं फर्कन राजी भएका थिए।काठमाडौं फर्कने बेलामा केसीलाई स्थानिय महिलाहरुले रुदै फूलमाला दिएर बिदा गरेका थिए। 

केसीका तर्फबाट जारी गरिएको विज्ञप्ति यस प्रकार रहेको छः 

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरू,

चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ । त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ । सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु । 

यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी छु । सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।  ज्यादतीमा संलग्न  हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु ।

माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु । साथै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु ।

प्रा डा गोविन्द केसी
शिक्षण अस्पताल, महाराजगञ्ज ।
२०७५।४।३



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ