arrow

समीक्षा ठकुरी हत्या प्रकरणः दवाव दिन जाग्यो आमा समूह

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन ४ शुक्रबार

बुटवल। गत असार २० गते जलेर मृत्यु भएकी समीक्षा ठकुरीको घटना छिटो बाहिर ल्याउन सामाजिक संघ संस्थाहरुले प्रहरीलाई दवाव दिएका छन्। रुपन्देहीको कञ्चन गाउँपालिका रुद्रपुरकी ठकुरीको हत्या भएको १५ दिन बितिसक्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै उनीहरुले प्रहरीलाई दवाव दिएका हुन्।

असार ९ गते राति जलेर घाइते भएकी ठकुरीको असार २० गते काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो। समीक्षाकी आमा माया थापाले बुटवलको ईलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

तर अनुसन्धान थालेको प्रहरीले १६ दिनसम्म पनि दोषी पत्ता नलगाएको भन्दै कञ्चन गाउँपालिकाका आमा समूहले ईलाका प्रहरी कार्यालय सालझण्डीमा आएर घटनाको सत्य तथ्य छिटो बाहिर ल्याउन माग गर्दै दवाव दिएका छन्। प्रहरीले अनुसन्धानमा चासो नदिएको भन्दै उनीहरुले घटनाको यथार्थ बाहिर ल्याउन माग गरे। 

मृतक समीक्षा ठकुरीकी सानीआमा रचना बुढाथोकीले प्रहरीले कसैको दवावमा रहेर घटनाको अनुसन्धानमा ढिलाई भएको आरोप लगाइन् । उनले घटना भएको लामो समय भइसक्दा समेत प्रहरीले घटनालाई गम्भीर रुपले नलिएको बताइन्।

कञ्चन गाउँपालिकामा रहेका ९ वटा आमा समूह र सामुदायिक वन उपभोत्ता समितिका महिलाहरुले ईलाका प्रहरी कार्यालय सालझण्डीमा दुई घण्टा दवाव दिएका थिए। उनीहरुले प्रहरीले पटक पटक म्याद थप गर्दै आए पनि घटनाको अनुसन्धानमा चासो नदेखाएपछि दवाव दिन प्रहरी चौकीमा आएको बताएका थिए।

१५ दिनदेखि घटना बारे केही रहस्य बाहिर आउने आशा गरे पनि केही नभएपछि दवाव दिन प्रहरी चौकीमा आएको कञ्चन गाउँपालिका रुद्रपुरकी समाजसेवी गौरा थापाले बताइन्। उनले पटक पटक म्याद थप गर्दै दुई जनालाई राख्ने र अरुलाई छाड्ने गरेको भन्दै घटनाको यथार्थ बाहिर नआउन्जेल सवैलाई अनुसन्धानको दायरमा राख्नुपर्ने बताइन्।

गत कार्तिकदेखि पिपराचापमा बस्दै आएकी समीक्षा ठकुरीको मृत्यु भएपछि आमा माया थापाले परिवारका अन्य सदस्यहरुले यातना दिने गरेको र छोरीलाई मट्टितेल खन्याएर आगो पनि परिवारकै सदस्यले लगाइदिएको आरोप लगाइन्। समीक्षा जन्मिएको ९ महिनामै बुवा तेजेन्द्र ठकुरीले दोस्रो विवाह गरे पनि उनी आमा मायासंगै मामाघरमा बस्दै आएकी थिइन्।  मामाघरमै हुर्किएकी समीक्षा गत तिहारपछि रुपन्देहीको कञ्चन गाउँपालिका ५ पिपरीचापा स्थित घरमा बस्दै आएकी थिइन्। 

आमा इराक गएपछि घर फर्किएर समीक्षाले अंश दाबी गरेको परिवारिक स्रोत बताउँछ। समीक्षाले घरमा हजुरआमा, बाबा, हजुरबाबालगायतको यातना खेप्ने गरेको मायाको आरोप छ। यता प्रहरीले भने अनुसन्धान जारी रहेकाले केही बोल्न नमिल्ने बताएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले घटनाको बारेमा गम्भीर अनुसन्धान भइरहेको भन्दै अहिले केही बोली हाल्न नमिल्ने बताए। प्रहरीले मृतक समीक्षाकी हजुरआमा हरिमाया ठकुरी, कान्छी फुपु शोमा रानालाई म्याद थप गरी अनुसन्धान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ