arrow

काम नै नगरि नेकपाका कार्यकर्तालाई दिइएको ३३ लाख फिर्ता गराए मेयर शेर्पाले

सरकारी कर्मचारी र सत्तारुढ दलका कार्यकर्ताको मिलिभगतमा भ्रष्टाचार मौलाउँदो

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
khanepani_letter_solu.jpg

सोलुखुम्बु। खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय सोलुखुम्बुको ढल ब्यवस्थापनका लागि ‘ढल निर्माण तथा प्रशोधन कार्यक्रम’ अन्तर्गत आएको ३३ लाख रकम कामै शुरु नगरी भुक्तानी गरेको पाइएको छ ।

आर्थिक बर्षको अन्तिममा केन्द्रबाट निकासा भएको रकम खोनापनी तथा सरसफाई सव डिभिजन कार्यालय सोलुखुम्बुका प्रमुख कुलप्रसाद शर्माले सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बरमा ६ मा स्थानिय नेकपाको नेता समेत रहेका दिपक राज भण्डारीको नेतृत्वमा उपभोक्ता समिति गठन गरी कामनै नगराई एकमुष्ट रकम भुक्तानी गरेको खुलासा भएको हो । 

अन्तिम समयको अख्तियारीको कार्यान्वयनका लागि नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले चासो देखाएर कार्यालय प्रमुख शर्मालाई पटक पटक रकमको बारेमा सोधपुछ गर्दा बजेट फ्रिज हुने बताए पनि असार मसान्तमा गुपचुपमा समिति बनाएर चेक नं. ००३४२०००६००२०१ बाट ३३ लाख ४० हजार ६६५ रुपियाँको चेक उपभोक्ता समितिका नाममा भुक्तानी भएको पाइएको हो । 

रकम भुक्तानीको कुरा बाहिरिएपछि मेयर शेर्पाले अनियमितताको आशंका गर्दै भुक्तानी रोक्नका लागि हस्तक्षेपकारी भुमिका निर्वाह गरेर दबाब दिएपछि खोनापनी तथा सरसफाई सव डिभिजन कार्यालय सोलुखुम्बुका प्रमुख कुलप्रसाद शर्माले बिहीबार कोष तथा लेखा नियन्त्रण कार्यालय सोलुखुम्बुलाई चलानी नं. १ रहेको पत्र मार्फत भुक्तानी रद्द गरिदिन पत्र लेखेका हुन्।  

अनियमित रुपमा कागजी फरफारक बनाएर भुक्तानी भएको विषयमा मेयर शेर्पा तथा प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले कार्वाहीको चेतावनी दिएपछि कार्यालय प्रमुख शर्माले कार्बाहीको डरले कोष तथा लेखा नियन्त्रण कार्यालयलाई भुक्तानी रोक्न पत्राचार गरेका हुन।  

कार्यालयले चेक रद्ध गर्न पत्राचार गरेपछि अनियमितता भएको पुष्टि भएको र मिलेमतोमा काम नगरी सम्पन्न भएको प्रतिवेदन बनाएर भुक्तानी दिएको देखिएकाले भ्रष्टाचारको नियत स्पष्ट भएको मेयर शेर्पाले बताए।

नेपाली काँग्रेसबाट निर्वाचित मेयर शेर्पाले आफू जनताको प्रतिनिधि भएर नगरपालिकामा रहुन्जेल भ्रष्टचार मुक्त नगरपालिका निर्माण एक मात्र लक्ष्य लिएकाले नगर क्षेत्रभित्र यस्ता खाले अनियमितता हुन नदिने प्रष्ट पारे। आफु विकासको पक्षमा रहेको भन्दै मेयर शेर्पाले कामै नगरि रकम झ्वाम गरेर राज्यको रकम दोहन गर्ने प्रबृत्तिलाई सधैँ निरुत्साहित गर्ने बताए। 

प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले यो काम अत्यन्तै गलत भएको र जिल्लामा सुशासन कायम गर्न यस्ता खाले कामलाई कडा रुपमा निगरानी गर्ने बताए। आफूले गलत कामलाई सच्याउन कार्यालय प्रमुखलाई निर्देशन दिएको उनको भनाइ छ ।

मेयर शेर्पाको पहल पछि काम नै नगरि रकम पचाउन खोजेकाहरुले रकम नपाएपछि स्थानिय उपभोक्ता भने खुसी देखिएका छन्। स्थानियहरुले मेयरलाई धन्यवाद दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ