सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय, मापन २०१९ भित्र सक्ने लक्ष्य
कुमार चौलागाई,कल्पना पौडेल,
प्रकाशित २०७५ साउन ४ शुक्रबार
441
Shares
काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ।
नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलका अनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ। टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गरेको थियो। अब ५५ किलोमिटर लेभलिङ गर्न मात्र बाँकी छ।
गत माघ १५ गते लेभलिङका लागि पहिलो प्राविधिक टोली सिरहास्थित नेपाल–भारत सीमा मदार पुगेको थियो। भारतदेखि मदारसम्म लेभलिङको काम सर्वे अफ इन्डियाले र त्यहाँबाट नेपाली टोलीले गरेका थिए।
गत माघदेखि दुईवटा प्राविधिक टोलीले लेभलिङको काम शुरु गरेको र १७० किलोमिटरको काम सक्याएर दुबै प्राविधिक टोली गत असारको दोस्रो साता काठमाडौँ फर्किएको हो। टोली काठमाडौँ फर्किएपछि यतिखेर विभागमा अहिलेसम्म संकलित तथ्याँकको विश्लेषण गर्ने काम भइरहेको छ।
डंगोलले भने, “विभागले जिपिएस र लेभलिङका लागि छुट्टै टोली परिचालन गरेको थियो। जिपिएसमा टोली प्रमुखसहित १७ जना र लेभलिङका लागि १२ जना प्रविधिज्ञ सहभागी थिए।”
“अहिले हामी गत वर्षको डाटा प्रोसेसिङमा लागेका छौँ, यसको फाइलन आउटपुट निकाल्छौँ र वर्षायाम सकिएलगत्तै फिल्डमा मुभ हुन्छौँ,”उनले भने।
मापनमा प्राविधिक सहयोग गर्न न्युजिल्यान्डका भूगर्भविद् प्रो किस्टोफ पियर्स अहिले नेपालमै छन्। उनले एक महिनासम्म प्राविधिक टोलीलाई स्वयंसेवकका रुपमा प्रशिक्षण दिनुहुने प्रमुख डंगोलले जानकारी दिए।
यस वर्ष १५ करोड बजेट
सरकारले सगरमाथा मापनका लागि पर्याप्त बजेट विनियोजन गरेका कारण यस वर्ष मापन कार्यले तीव्रता पाउने अपेक्षा गरिएको छ।
चालु आर्थिक वर्षमा यस कार्यका लागि विनियोजित रु १५ करोड बजेटले मापन कार्यलाई निर्विध्नपूर्वक अघि बढाउन सहयोग पुग्ने नापी विभागको भनाइ छ।
विभागका अनुसार यस वर्षको बजेटबाट फिल्डको कामसँगै मापनका लागि आवश्यक ग्राभिटी मेसिन खरिद गर्ने काम हुन्छ। खरिद प्रक्रियाका लागि विभागले तयारीसमेत थालिसकेको छ। विभागसँग रहेको पुरानो ग्राभिटी मेशिन बिग्रिएका कारण नयाँ किन्न परेको हो।
मापन २०१९ भित्र सक्ने लक्ष्य
विभागले अहिलेकै अनुपातका काम अगाडि बढाउन सकिए सन् २०१९ को अन्तसम्म मापनको कार्य सक्ने जनाएको छ।
विभागसँग ६० वर्षको अनुभव छ। नयाँ प्रविधि अपनाउन सक्ने जनशक्ति दक्षसमेत रहेकाले निर्धारित समयमै काम सक्ने विभागको दाबी छ।
विश्वको सर्वोच्च शिखरका रुपमा प्रख्यात सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपालले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारतलगायतका मुलुकले गरेको मापन अन्तरर्राष्ट्रियरुपमा विवादित बन्नु, विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’को प्रभावलगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले मापनको गृहकार्य अघि बढाएको हो।
मापन कार्य शुरु गर्नु अघि विभागले गत मंसिर २५ र २६ गते भारत, चीन, संयुक्त राज्य अमेरिका, इटालीलगायत देशका वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञहरूकै सुझावका आधारमा कार्यविधि तयार गरेको थियो।
यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८ सय ४८ मिटर भएको निष्कर्ष निकालेको थियो। त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए। तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन।
विभागका अनुसार गत कात्तिक ७ गते सोलुखुम्बु पुगेर नेपाली टोलीले भारतीय सर्वेक्षकले त्यस बखत सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोज्ने काम गरेको थियो। हालसम्म त्यस्ता ४९ वटा बिन्दु मापन टोलीले फेला पारिसकेको छ।
मापनका तीन विधि
विभागले उचाइ नाप्न तीनवटा विधि प्रयोग गर्दैछ। ‘डाइरेक्ट मिजरमेन्ट’अन्तर्गत प्रत्यक्षरुपमा अगाडि/पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिन्छ।
त्यस्तै, ‘ट्रेंगुलेशन’ विधिबाट पनि उचाइ नाप्न सकिन्छ जसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिन्छ। हाल प्रमाणित सगरमाथाको उचाइ यही विधिबाट नापिएको हो।
तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने। जिपिएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ। सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो। त्यतिबेला चीनले सगरमाथाको उचाइ आठ हजार ८ सय ४४ मिटर आसपास निकालेको थियो। तर, त्यसले अन्तरर्राष्ट्रिय मान्यता पाउन सकेन।
सगरमाथालाई सन् १९४९ र १८५० मा सर्भे अफ इन्डियाले मापन गर्दा उचाइ आठ हजार ८ सय ४० मिटर निर्धारण गरिएको थियो। सन् १९५४ मा एसओआइका बिएल गुलाटीले मापन गर्दा आठ हजार ८ सय ४८ मिटर र सन् १९७५ मा तिब्बततर्फबाट चाइनिज ब्यूरो अफ सर्भे एन्ड म्यापिङले मापन गर्दा आठ हजार ८ सय ४४.४३ मिटर उचाइ रहेको जनाएका थिए।
सन् १९९९ मा बोस्टन म्युजिएम अफ साइन्सका प्रो ब्रड बार्सबनले पहिलो पटक जिपिएस प्रविधिको प्रयोग गरी मापन गरेर त्यसबखत आठ हजार ८ सय ५० मिटर रहेको तथ्य अघि सारियो। अहिलेसम्म नेपालले आइएसओले मापन गरेको आठ हजार ८ सय ४८ मिटरलाई आधिकारिक उचाइ मान्दै आएको छ। रासस