arrow

प्रहरी दमनप्रति कांग्रेसको आपत्ति

logo
प्रकाशित २०७५ साउन ५ शनिबार
police-daman.png

काठमाडौं । तरुण दलले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमनप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । शनिबार शान्तिपूर्ण रुपमा भइरहेको जुलुसमाथि  प्रहरीले आन्धाधुन्ध आक्रमण गरेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले आक्रमण लगत्तै एक विज्ञप्ति जारी गरेर तरुण दलप्रति भएको अन्धाधुन्ध आक्रमणलाई गम्भिर रुपमा लिएको बताएका छन् ।  ‘अधिनायकवाद उन्मुख सरकारद्वारा शान्तिपूर्ण जुलुसमाथि बानेश्वरमा भएको अन्धाधुन्द आक्रमणलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ’ प्रवक्ता शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै कांग्रेसले शनिबार भएको आक्रमणले थप आन्दोलनका लागि हौसला प्रदान गरेको समेत जनाएको छ । नेपाल तरुण दलको नेतृत्वमा माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक भएको आक्रमणबाट आफ्नो ४ दर्जन भन्दा बढि कार्यकर्ता घाइते भएको उल्लेख गर्दै आक्रमणले आन्दोलनकारीको थप हौसला बढाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बोश्वरमा भएको आक्रमणमा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत ४ दर्जन भन्दा बढी घाइते भएका कांग्रेसले जानकारी दिएको छ । प्रहरी दमनको लगतै सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोईरालाले अस्पताल पुगेर घाइतेहरुको स्थिति बुझ्नुका साथै आन्दोलनकारीहरुको हौसला बढाएको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

त्यस्तै नेपाली कांग्रेसले ओली सरकारले संसद समेत छलने काम गरेको र सडक प्रदर्शनमा समेत दमन गरेको भन्दै यसले आगामी आन्दोलनका लागि एकताबद्ध ढंगले उपस्थित हुने समेत विज्ञप्तिमार्फत जनाएको छ । ‘एकातर्फ संसदलाई छलेर ८ दिनपछि सार्ने अनि अर्कातर्फ सडकको प्रदर्शनमा पनि दमन गर्ने सरकारका विरुद्ध झनै एकतावद्ध ढंगले उभिनु पर्ने आवश्यकता हामीले महसुस गरेका छौँ’ विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनको समस्या नै चिकित्सा शिक्षा अध्यादेश रहेको भन्दै आफ्नो मागमा नेपाली कांग्रेस प्रस्ट रहेको र त्यसलाई जस्ताको त्यस्तै विधेयकका रुपमा ल्याउन समेत कांग्रेसले माग गरेको छ ।

‘नेपाली कांग्रेसको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान हो भन्ने विषयमा हामी प्रष्ट छौँ । त्यसलाई हुबहु विधेयकका रुपमा ल्याउनु नै डा. गोविन्द के.सी.ले जारी राख्नु भएको अनशनको समाधान हो भन्ने कुरा जगजाहेर छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ । अनशनको तेस्रो साता पूरा भैसक्दा पनि वार्ता मार्फत समाधान खोज्ने र उहाँको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनु सरकारको अत्यन्तै गैरजिम्मेवार प्रवृत्ति रहेको कांग्रेसको ठहर  छ ।

चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा कांग्रेसको आन्दोलन जारी रहेको जनाइएको छ । सरकार आफ्नो रवैया रुपान्तरित गरेर तत्कालै समाधान खोज्नतर्फ नलागे अधिनायकवाद उन्मुख शैलीका विरुद्ध अझ प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नु पर्ने चेतावनी  समेत कांग्रेसले दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ