arrow

पत्रकारमाथि प्रहरीले गरेको अन्धाधुन्ध प्रहारको प्रेस युनियनद्वारा भत्सर्ना

logo
प्रकाशित २०७५ साउन ५ शनिबार
ajaya.jpg

काठमाडौं । शनिबार बानेश्वरमा पत्रकारमाथि प्रहरीले गरेको अन्धाधुन्ध प्रहारको नेपाल प्रेस युनियनले भत्सर्ना गरेको छ । समाचार संकलनका लागि गएका पत्रकारमाथि प्रहरीले गरेको दमनप्रति प्रेस युनियनले विज्ञप्ति निकालेर भत्सर्ना गरेको हो ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलद्धारा जारी विज्ञप्तिमा ‘शान्तिपूर्ण जनप्रदर्शनको समाचार संकलनमा क्रममा सरकारले गरेको निर्मम दमनबाट नेपाल प्रेस युनियनका महासचिव एवं हाम्रा कुरा डट कमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीलगायत सञ्चारकर्मी घाइते भएको र स्वतन्त्र प्रेसमाथि भएको दमनको युनियन कडा भत्र्सना गर्दछ’ भनिएको छ ।

विज्ञप्तिमा ' नेपाल प्रेस युनियन सरकारद्वारा स्वतन्त्र प्रेसमाथि गरिएको यो ज्यादतीको घोर भत्र्सना गर्दै घाइते भएका सञ्चारकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत  गर्दछ ।'  नेपालको संविधान अनुसार स्वतन्त्र प्रेसको जिम्मेवारी वहन गरिरहेका सञ्चारकर्मीमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको समेत युनियनले ठहर गरेको छ ।

घटनाले सरकार स्वतन्त्र प्रेसप्रति कति उदार छ भन्ने थप प्रष्ट्याएको र आगामी दिनमा स्वतन्त्र प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदोर्‍याउन नेपाल प्रेस युनियनले सरकारलाई चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार दुई तिहाई बहुमतको दम्भमा लोकतन्त्रको बाटो बिराएर नेपाली प्रेसलाई दमन गर्न निरंकुश शैलीमा प्रस्तुत भएको हाम्रो ठम्याई छ । नेपाल प्रेस युनियन नेपालको संविधानले प्रदत्त गरेका स्वतन्त्रपूर्वक लेख्न र समाचार सम्प्रेषण गर्न पाउने प्रेस स्वतन्त्रता तथा जनताको स्वतन्त्रतापूर्वक बोल्न एवं हिडडुल गर्न पाउने मौलिक अधिकारको हेक्का राख्न सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ