सिद्धबाबा सडकको भीरमा ट्रकले दियो मोटरसाइकललाई ठक्कर, दुईको मृत्यु
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन ६ आइतबार
158
Shares
पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा र हेडबक्सको बिचमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख १००८ नम्वरको ट्रकले अगाडि गुडिरहेको लु २१ प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।
दुर्घटनामा माथागढी २ का ४५ वर्षीय माधव कुमाल र सोही स्थानका १९ वर्षीय उमेश कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने बाबु छोरा हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । मोटरसाइकलमा सवारी दुबै जनाको तिनाउ खोलाको छेउमा पुगेका छन् ।
दुर्घटनास्थलमा रहेको भीरबाट दुई सय मिटर तल खोलाको छेउमा पुगेकाले निकाल्न केही कठिनाई भएको प्रहरी जनाएको छ । डोरीको सहायताबाट शव निकाल्ने तयारी गरिएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको अधिकृत घिमिरेले बताए । दुर्घटनाग्रस्त मोटरसाइकल सडक छेउमा अड्किएको छ ।