गैर जिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई कसले कारबाही गर्ने ? : कांग्रेस
प्रकाशित २०७५ साउन ६ आइतबार
281
Shares
काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले वंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली छात्राहरुको सम्बन्धमा दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । शनिबार मन्त्री तामाङले दिएको अभिव्यक्तिको विरुद्धमा विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले आपत्ति जनाएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा ‘केहीं समययता चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा जारी वहस र आन्दोलनका क्रममा सत्ता पक्षधर केही व्यक्तिहरुबाट अभिव्यक्त आपत्तिजनक धारणालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको’ उल्लेख गरिएको छ । वंगलादेशमा अध्ययन गरिसकेका र गरिरहेका नेपाली चेलीहरुको अस्मिता र प्रतिष्ठामा चोट पुगेको भन्दै नेपाली कांग्रेसले मन्त्रीको अभिव्यक्ति निन्दनिय र आपत्तिजनक रहेको उल्लेख गरेको छ ।
‘खासगरी वंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत हाम्रा चेलीहरुको अस्मिता, सामाजिक प्रतिष्ठा र पारिवारिक मनोभावलाई हेक्का नराखी व्यक्त धारणाहरु अत्यन्तै निन्दनीय र आपत्तिजनक छन्’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा ‘एकजना व्यवसायीले मात्रै होइन, सरकारको मन्त्रीले समेत यस्तो अभिव्यक्ति राख्दा प्रधानमन्त्रीको मौनता झनै गम्भीर कुरा हो । गैर जिम्मेवार अभिव्यक्तिहरुबाट छात्राहरु एवं तिनका माता, पिता र परिवारजनमा पर्न गएको गहिरो चोटले नेपाली कांग्रेसलाई पनि मर्माहत तुल्याएको’ उल्लेख गरिएको छ ।
‘स्वयं प्रधानमन्त्रीबाट बेलाबेलामा हलुका अभिव्यक्ति बाहिरिने गरेका बेला जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिमा कारबाही कसले गर्ने ?’ भन्ने प्रश्न समेत कांग्रेसले विज्ञप्तिमा उठाएको छ । नेपाली समाजमा छोरी चेलीलाई देवीका रुपमा मान्ने हाम्रो संस्कार रहेको स्मरण गराउँदै यस्ता अभिव्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने दायित्व प्रधानमन्त्रीकै रहेको समेत कांग्रेसको विज्ञप्तिा उल्लेख गरिएको छ ।