काठमाडौं। नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारले आफै पतनको बाटो रोजेको बताए। उनले भने, सरकारले दुई तिहाइको दम्भ प्रदर्शन गरेर जनताको भावना विपरीत गएकोछ, यसले आफ्नो पतनको बाटो आफै रोजेको छ।
दुई तिहाइ बहुमतको भनिएको यो सरकार निर्माण भएको चार महिनामै इतिहासमै सबैभन्दा बदनाम भएको बताउँदै अस्पतालमा गोली चल्ने, मन्त्रीकै आदेशमा अस्पतालबाट चिकित्सक अपहरणमा पर्ने, विदेश हिँडेका प्राज्ञिक व्यक्तिलाई अपहरणको शैलीमा फर्काउने जस्ता कारण यसका प्रमुख उदाहरण हुन् भने।
सरकार जनताको भावना विपरीत गएको कुरा आज अब काँग्रेसले भनिरहनु नपर्ने दिनहूँका क्रियाकलाप, सामाजिक सञ्जाल र देशका सञ्चारमाध्यमहरुले देखाइरहेका उनले भने।
नेपाली काँग्रेस रुपन्देहीद्धारा बीपी कोइरालाको ३६ औँ स्मृति दिवसका अवसरमा आइतबार रुपन्देहीमा आयोजित सभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले काँग्रेसले ल्याएको चिकित्सा शिक्षा विधेयकमा फेरबदल भएमा राम्रो नहुने भन्दै डा गोविन्द केसीको जीवन रक्षाका लागि काँग्रेसले जस्तो सुकै कदम पनि उठाउने बताए।
सरकारले ठूला कुरा गरे पनि महंगी, भ्रष्टाचार र मन्त्रीहरुले यसो गर्दैछौँ र उसो गर्दैछौँ भनेर गर्ने गरेका हावादारी गफ, उनीहरुको विलासिता र अनावश्यक खर्च हेर्दा यो सरकारलाई कुनै पनि किसीमले कम्युनिष्ट सरकार भन्न नसकिने उनले बताए।
संसारमै पतन भएको कम्युनिष्ट सरकार अब नेपालमा पनि धेरै नटिक्ने उनको भनाई थियो। उनले भने— यो संसारमै नटिकेको व्यवस्था हो, यहाँपनि टिक्दैन काँग्रेसले केही गर्नै पर्दैन। यतिखेर सडक र सदनमा उठेका आवाजलाई सम्बोधन नगरी सरकार अघि बढ्यो भने यसबाट उत्पन्न हुने परिणामको कल्पना पनि यो सरकारले गर्न नसक्ने उनको ठोकुवा थियो।
सहमहामन्त्री डा.महतले नेपाली काँग्रेसले बीपीको विचारको आधारशिलाका रुपमा नेपाली काँग्रेस जन्मिएकोले उनको आदर्श र नेपाली जनताको भावना आगामी दिनमा संगठन सुदृढगर्दै काँग्रेस अघि बढ्ने धारणा पनि राखे।