काठमाडौँ । सरकारी वार्ता टोली र आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्षबीच अनौपचारिक वार्ता जारी रहेकाे बताईए पनि औपचारिक वार्ता हुन सकेको छैन । जसले डा. केसीकाे अनसन अहिलेसम्मकै लामाे हुन पुगेकाे छ । अाइतबार २३अाैँ दिन केही प्रगति भएन ।
प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान केसी पक्षले राखेका कारण वार्ता हुन नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले बताए ।
“हामीले उहाँहरुलाई निःशर्त वार्तामा आउन औपचारिक आग्रह गरेका छौँ तर केसी पक्षबाट वार्ताका लागि ठोस पहल भएको छैन”, सचिव बरालले भने, “वार्ताबाट निकास निकाल्न सरकार तयार छ तर संसद्मा पुगेको विधेयक फिर्ताको अधिकार हामीसँग छैन ।”
असार १६ गतेदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएकाले केही दिनअघि उनलाई जुम्लाबाट काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
डा केसीले १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेज स्थापना हुन नहुने अडान राख्दै आएका छन्, भने सांसद र कानूनविद् एवं विज्ञहरुले यसको निरुपण सार्वभौम संसद्बाट हुनुपर्नेमा जोड दिँदै आएका छन् ।