arrow

सप्तदीपमध्ये कहाँ छ पृथ्वी ? नरक कहाँ छ ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ साउन ७ सोमबार
jambudip.jpg

काठमाडौं । अहिले आधुनिक विज्ञानले ब्रह्माण्डको विषयमा विभिन्न व्याख्या विश्लेषण गर्ने क्रममा पृथ्वी, अन्य ग्रहहरु, सूर्यमण्डल, तारा, नक्षत्रहरु लगायतका विभिन्न विधाहरुमा विभाजन गरेका छन् । अहिले पृथ्वी विभिन्न देशहरुमा विभाजित छ । यस्तो विभाजन त्यतिबेला वर्षको रुपमा गर्ने गरिएको थियो । त्यसैले हाम्रो नेपाल पनि भारत वर्ष भारत खण्ड अन्तर्गत् आर्यावर्त क्षेत्रमा पर्दछ । अहिलेको पृथ्वी मण्डल पौराणिक कालमा जम्बूदीप नामले चिनिन्थ्यो । पृथ्वी र पृथ्वी बाहिरका सप्तदीपहरुको बारेमा हजारौ वर्षअघि लेखिएका हिन्दू धर्मग्रन्थहरुमा स्पष्टसँग उल्लेख भएका छन् ।

यस्ता विषयहरु मध्ये अधिकांश विषयमा आधुनिक विज्ञान समेत सन्तुष्ट छ भने कतिपय विषयहरु आधुनिक विज्ञानले अहिलेसम्म पनि अनुसन्धान गर्न सकेको छैन। अनुसन्धानको क्रममा प्रमाणित धेरै विषयहरु धर्मग्रन्थसँग मिल्दाजुल्दा छन् भने केही अझै अनुसन्धानको क्रममा नै छन् । त्यसैले हिन्दू पुराण र अन्य ग्रन्थमा लेखिएका विषयको आप्तता प्रमाणित भएको छ ।
 
पुराणका अनुसार कस्तो छ ब्रह्माण्डको बनोट ?
हामी रहेको यो ब्रह्माण्ड अण्ड आकारको छ । त्यसैले यसको नाम नै ब्रह्माण्ड राखिएको छ । यसको विषयमा पहिले विष्णुपुराणमा धेरै विषयहरु उल्लेख गरिएका छन् भने बाँकी केही विषयहरु श्रीमद्भागवत् महापुराणमा पनि उल्लेख गरिएका छन् ।

सप्तदीपहरु मध्ये पृथ्वीको सबै भाग जम्बूदीपभित्र पर्दछ । हामी अहिले रहेको जम्बूदीपमा कूल ९ वर्षहरु छन् । अर्थात् पौराणिक समयमा पृथ्वी ९ भागमा विभाजित गरिएको थियो । त्यही विभाजनलाई प्राचीनकालमा वर्षको रुपमा मानिन्थ्यो । अहिले सोही वर्षलाई महादेशहरुको नामले चिनिन्छ । जम्बूदीपमा रहेको सुमेरु पर्वतको दाहिनेपट्टि भारत वर्ष, किम्पुरुष वर्ष र हरि वर्ष रहेका छन् । त्यस्तै, सुमेरु पर्वतको उत्तरपट्टि रम्यक वर्ष, हिरण्यक वर्ष र कुरु वर्ष रहेको छ । सुमेरु पर्वतको पूर्वमा भद्राश्व वर्ष र सुमेरु पर्वतको पश्चिममा केतुमाल वर्ष रहेको छ । यसमध्ये अहिलेको नेपाल भारत लगायतका मुलुकहरु भारतवर्ष भित्र पर्दछन् ।

१ लाख योजनमा फैलिएको सो जम्बूदीप आफू जत्तिकै ठूलो लवणयुक्त(नुन) समुद्रले ढाकिएको छ । एक योजनमा करिब ३ किलोमिटर हुन्छ । अर्थात् पृथ्वी ३ लाख किलोमिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको उल्लेख पुराणमा छ ।
 
माथि उल्लेख गरिएको उक्त लवणयुक्त समुद्रपनि दुई गुणा ठूलो प्लक्षदीपले ढाकिएको छ । उक्तदीपमा पनि सात वर्षहरु छन् । उक्त दीप मीठो पानीले भरिएको इक्षुरसले ढाकिएको छ । सो इक्षुरस पनि शाल्मलिदीपबाट घेरिएको छ। उक्त शाल्मलिदीप सुरा(मदिरा) युक्त समुद्रबाट ढाकिएको छ । उक्त सुरा समुद्रलाई कुशद्वीपले ढाकिएको छ । कुशदीप घृत(घिऊ) समुद्रद्वारा ढाकिएको छ । उक्त घृत समुद्रपनि क्रौञ्च समुद्रले घेरिएको छ । उक्त क्रोञ्चदीप पनि दधि(दही) समुद्रले घेरिएको छ । उक्त दधि समुद्र शाक दीपले घेरिएको छ । शाकदीप क्षीर(दूध) समुद्रले घेरिएको छ । क्षीर समुद्र पनि पुस्करदीपले घेरिएको छ । पुस्करदीप पनि शुद्ध जलयुक्त समुद्रले घेरिएको छ ।

जम्बुदीपलाई छाडेर प्लक्ष आदि गरिएका सबै दीपहरु सात सात वर्षमा विभाजित गरिएका छन् । सप्तदीपात्मक यस व्रह्माण्डमा आफ्नो दुई गुणा ठूलो विस्तृत आकारवाला स्वर्णिम भूमिद्वारा आवृत्त छ । उक्त काञ्चन भूमि चारैतिर लोकालोक पर्वतद्वारा वेष्ठित छ। यो पर्वत पूर्ण अन्धकारद्वारा व्याप्त छ । यो अन्धकार गर्दाेदकबाट धेरिएको छ। त्यसबाहिर अर्धकटाह(आधा कराई) आकारको एक पदार्थले ढाकिएको हुन्छ । त्यही अर्ध ब्रह्माण्ड हो ।

यो पृथ्वीको तलतिरको भागको वर्णन हो । वैज्ञानिकहरुले पृथ्वीको माथिल्लो भागको विषयमा धेरै विषयहरु अन्वेषण गरेको भएपनि पृथ्वीको तल्लो भागमा त्यत्ति धेरै अन्वेषण गरेको पाईँदैन ।

यो भूमिको अर्ध ब्रह्माण्ड बाहिर सात लोकहरु रहेको छ । अतल, वितल, नितल, तलातल, महातल, सुतल र पाताल गरी सात लोकहरु पृथ्वी बाहिर रहेका सात लोकहरु हुन् । यो सात लोक भन्दा मुनि दाहिने तर्फ नरक छ । त्यो नरक पनि २१ प्रकारको रहेको छ । यो २१ प्रकारको नरकहरुको विस्तृत विवरण हामी यस पछि प्रस्तुत गर्नेछौं ।

(हाम्राकुरामा कार्यरत लेखक अर्याल नयाँदिल्लीमा अध्ययनरत छन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ