arrow

आज्ञाकारी डा केसीले यसरी माने, प्रतिक्षा थप आग्रहको

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
dr_kc-aama1.jpg

काठमाडौं । आमरण अनसनरत प्राडा गोविन्द केसीले अन्ततः आफ्नी आमाको आग्रहलाई मानेका छन् । उनले जुम्लाबाट फर्केपछि पहिलो पटक रगत परीक्षण गर्न मानेका हुन् । 

तर योसंगै उनको स्वास्थ्य निकै नाजूक भएको पनि स्पष्ट भएको छ । उनी गत बिहिबार जुम्लाबाट काठमाडौंमा जवरजस्ती ल्याइएका थिए । केपी शर्मा आली नेतृत्वको सरकारले उनलाई अपहरण शैलीमा काठमाडौं ल्याएको थियो । उपचार गर्ने बहानामा ल्याए पनि उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा छाडेर सरकार बेपत्ता भयो । 

अहिलेसम्म वार्ता पनि गरेको छैन । हुँदाहुँदै उनले बेकारमा अनसन बसेको पनि भनिरहेको छ । त्यही झोंकमा डा केसीले बिहिबारपछि कुनै पनि परीक्षण गर्न मानेनन् । 

२५ दिन भइसक्यो । उनले अहिलेसम्मकै सबैभन्दा लामो समय आमरण अनसन बसे । 

शारीरिक परीक्षण गर्न नमानेका डा केसीले सोमबार भने माने । त्यसमा उनकी ८० वर्षे आमाको भूमिका महत्वपूर्ण थियो । 

एक सन्तको ठूलो कमाइको अपेक्षा हुन्न । त्यसैले उनले बाहिर क्लिनिकमा काम गरेनन् । आमाका लागि पनि कुनै रकम जम्मा गरिदिएनन् । सन्त शान्त रहे । 

१४ पटकसम्म आमरण अनसन बस्दा छोरा भेट्न नआएकी उनकी आमा मित्रकुमारीले छोरालाई यो सरकारले मार्ने हो कि भन्ने चिन्ता पनि भयो । अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याउनेलाई यहींबाट बेपत्ता पो पार्ने हो कि भन्ने पनि लाग्यो होला । 

अनि आइतबार भेट्न गइन् । आँशुका बलिन्द्र धारा बगाउँदै रगत परीक्षण गराउन आग्रह गरिन् । 

सोमबारमात्र डा केसीलाई लाग्यो आमालाई सुख त दिन सकिएन कम्तीमा भनेको मानिदिउँ । उनको परीक्षण भयो । 

त्यसपछि भने उनको अवस्था गम्भीर रहेको पत्तो लाग्यो । 
हिजो साँझ आफ्ना छोरालाई भेट्न आएकी आमा स्वास्थ्य  परिक्षण पनि नभएको कुरा थाह पाउनासाथ विक्षिप्त भएकी थिइन् । भेट्दा केही नभनेपनि पछि टेलिफोनमार्फत बडो भावुक हुँदै आफ्ना छोरालाई उनले कमसेकम स्वास्थ्य परिक्षण गराउन आग्रह गरेकी थिइन् । 

अवाक् बनायो चिकित्सहरुलाई डा केसीको रिपोर्टले
रगतको रिपोर्ट आएसँगै चिकित्सकहरु भने चिन्तित भएका छन् । रगतका सम्पूर्ण ‘प्यारामिटर’हरु असामान्य देखिएका छन् । सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून देखिएको छ । यति कम सेतो रक्तकोशिका भएका बिरामीलाई कुनै संक्रमण भइहाले सीधै ज्यान जाने सम्भावना हुन्छ । 

संक्रमण नहोस् भनेर भेट्न आउने मानिसहरुलाई १० मिटर परै राख्ने गरिएको छ अनसनस्थलमा पुग्दा अनिवार्य मास्क र ‘ह्यान्ड स्यानिटाइजर’को प्रयोग गर्नुपर्ने वाध्यकारी नियम लगाइएको छ । 

रगतमा ग्लुकोजको मात्रा पनि अहिलेसम्मकै कम देखिएको छ । यसको सीधा असर दिमागमा पर्ने देखिएको छ । केही दिन यस्तै अवस्था रहे छारे रोग लाग्ने निश्चित भएको उनका सहयोगी चिकित्सकहरुले बताएका छन् । 

जुम्लामा रहँदै घटेको पोटासियम, म्यागनेजियम र क्यालसियमको मात्रा अझै घट्दो छ । यस्तो अवस्थामा हृदयाघात हुने सम्भावना पनि छ । उनी सामान्य उपचारमा छन् । उनलाई सीसीयुमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । 

उनले बल्लबल्ल आमाको भनाइ मानेका छन् रगत परीक्षण गराउन । अब आमाले फेरि ‘बाबु थप उपचार गर्न पनि मान्देऊ’ भनेर भन्लिन् र डा केसी खुरुक्क ‘हस्’ भन्ने प्रतिक्षामा यतिबेला डा केसीको अभियानलाई साथ दिइरहेकाहरु रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ