- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । भरतपुर महानगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडक खण्डमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा मंगलबारदेखि रोक लगाएको छ ।
तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न लागेको कार्यविरुद्ध ‘ई’ रिक्सा तथा अटो व्यवसायीले दिएको मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले सोमबार वैकल्पिक सडक भएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न बाटो खुल्ला गरिदिएको थियो ।
मंगलबारदेखि तोकिएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । इजलासबाट सोमबार जारी आदेशमा भनिएको छ, “प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षी भरतपुर महानगरपालिकाभित्र पर्ने राजमार्गको वैकल्पिक सडक भएका स्थान बाहेक सो राजमार्गको वैकल्पिक सडक नभएका स्थानसम्ममा मात्र प्रवेश गर्न निवेदनमा उल्लेखित प्रकृतिका तोकिएको मापदण्ड पूरा गरेका सवारीसाधनलाई रोक नलगाउनु भनी विपक्षीका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।”
हेटौँडा इजलासको आदेश अनुसार राजमार्गको वैकल्पिक सडक भएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापनको बाटो खुल्ला भएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन् । उनले ‘ई’ रिक्सा, अटो, टेम्पोलगायतका तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापनसँगै शहरको सुन्दरता र यातायातलाई प्रभावकारी सञ्चालनको काममा महानगर दृढ संकल्प लिएर अघि बढ्ने बताइन् ।
नेकपा अध्यक्ष पुष्षकमल दाहाल 'प्रचण्ड' पुत्री रेणुले सडकमा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरण गर्न जरुरी रहेकाले ई–रिक्सा, अटो– रिक्सा र टेम्पुलाई मुख्य सडक क्षेत्रमा सञ्चालन रोक लगाइएको बताइन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बाटो काट्नुपर्ने १६ ठाउँ बाहेकका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको बताइन् । पहिलो दिन सम्झाइबुझाइ पठाइएको र जरीवाना नगरिएको उनले बताइन् ।
महानगरले साउन ५ गतेदेखि ती सडकमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने सूचना जारी गरेको थियो । ‘इ’ रिक्सा तथा अटो व्यवसायीले उच्च अदालत पाटनको हेटौंडा इजलाशमा रिट दायर गरेपछि महानगरले अदालतको फैसला कुरेको थियो ।
यसअघि तीनपांग्रे सवारी सञ्चालनमा रोकको निर्णयविरुद्ध मजदुर आन्दोलनमा उत्रिएका थिए । नेकपा अध्यक्ष पुष्षकमल दाहाल 'प्रचण्ड' पुत्री भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सडकमा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरण गर्न जरुरी रहेकाले ई–रिक्सा, अटो– रिक्सा र टेम्पुलाई मुख्य सडक क्षेत्रमा सञ्चालन लगाउने निर्णय गरेपछि मजदुर संगठन आन्दोलित भएका थिए ।