काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सभापति उत्रिए प्रदर्शनमा
विरोध कार्यक्रम पछि गरे काँग्रेस नेताहरुले सफाइ
प्रकाशित २०७५ साउन ८ मंगलबार
255
Shares
काठमाडौँ । प्रा डा. गोविन्द केसीको माग सम्बोधन हुनुपर्ने माग गर्दै नेपाली कांग्रेसले मंगलबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। माइतीघर मण्डलाबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो।
मंगलबारको विरोध प्रदर्शनमा उक्त दलका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिए ।
नयाँ बानेश्वरमा भएको विरोधसभामा काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ, ललितपुर जिल्ला सभापति मदन अमात्य तथा भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले प्रा डा. केसीसँग वार्ताको पहल गर्न सरकारलाई आग्रह गरेका थिए ।
काठमाडौं सभापति वानियाँले नेपाली चेलीहरुको अस्मितामाथि धावा वोल्ने कानुनमन्त्री शेर बहादुर तामाङले मन्त्रीबाट हात धुनुपरे जस्तै लोकतन्त्र र मानवअधिकारमाथि धावा बोल्दै अधिनायकबाद लाद्न खोजे केपी ओलीले पनि सरकारबाट हात धुने स्थिति बन्ने चेतावनी दिए।
नेपाली काँग्रेस ललितपुरका सभापति मदन अमात्यले माथेमा कार्यदलको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएर सरकारले मुनाफाखोरहरुलाई पोस्ने खालको ल्याएको बताए। केसीको माग सरकारले पुरा गर्नुपर्ने अमात्यको माग थियो।
नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले प्रधानमन्त्री तानाशाही मनस्थितिले हावी भएको बताए। तीन जिल्लाको नेता कार्यकर्ताहरु विरोध कार्यक्रममा थिए।
कार्यक्रम सकिएपछि सभास्थलमा भएको फोहोर वानियाँ, अमात्य, थापा सहितका काँग्रेस नेता कार्यकर्ताहरुले सफा गरेका थिए।