‘तपाईहरु सत्यतथ्य समाचार नै लेख्नुस्’ - निधि–शशांक
प्रकाशित २०७५ साउन ९ बुधबार
524
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले सत्यतथ्य समाचार लेख्न आग्रह गरेका छन् । काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रलाई सम्वोधन गर्दै काँग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा शशांक कोइरालाले निडर भएर लेख्न आग्रह गरेका हुन् ।
नेताद्धयले मंगलबारमात्र सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टी निकटका पत्रकारलाई बोलाएर सरकारको र पार्टीको पक्षमा समाचार लेख्न निर्देशन दिएको भोलिपल्ट प्रेस युनियनका पत्रकारहरुलाई आग्रह गरेका हुन् ।
उनीहरुले भने सरकारको रबैया देखिँदै गएको छ । धम्कीहरु आउन सक्छन् तर ‘तपाईहरु सत्यतथ्य समाचार नै लेख्नुस्’ । सत्यतथ्य समाचार लेख्न पनि डराउनु पर्ने अवस्था आउन थालेको भन्दै नेताद्धयले लोकतन्त्रका लागि मिडिया महत्वपूर्ण भएकाले यसको गरिमा बचाइराख्न संचारकर्मीहरुलाई आग्रह गरे ।
नेताद्धयले सरकारले अहिले हरेक तह र तप्कामा कब्जा गर्न खोजेको भन्दै यस्तो रबैया धेरै दिन नटिक्ने पनि बताए ।
प्रेस युनियनको एक दिने बैठकले समसामयिक विषयमा मन्थन गर्नेछ । महाधिवेशन नजिकिँदै गर्दा त्यसका लागि गर्नुपर्ने विधान संशोधनदेखि लिएर जिल्ला अधिवेशन लगायतको मिति तोकिन सक्ने बुझिएको छ ।