arrow

नयाँ प्रधानमन्त्री छान्दै पाकिस्तान 

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
pakistan.jpg

काठमाडौं । पाकिस्तानमा नयाँ प्रधानमन्त्रीको लागि निर्वाचन सुरु भएको छ । पाकिस्तानमा पछिल्लो समय जारी रहेको हिंसा र हस्तक्षेपको आशंकाको बीच निर्वाचन भइरहेको हो । 

यो निर्वाचनमा पाकिस्तानका १० करोड ६० लाख मानिसहरुले भाग लिँदैछन् । यो निर्वाचन संसदको तल्लो सदन र चार प्रान्तीय सरकारका लागि निर्वाचन हुन गइरहेको हो । 

पाकिस्तानको पीटीआई पार्टीका नेता तथा पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको आगामी प्रधानमन्त्री बन्नसक्ने अनुमान गरिएको छ । उनले पीएमएल–एनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पराजित गर्नसक्ने बताइएको छ । पाकिस्तानका मानवअधिकारकर्मीहरुले यो निर्वाचनमा हस्तक्षेप हुनसक्ने बताएका छन् । 

यो निर्वाचन सफल पार्नका लागि पाकिस्तानले हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । बुधबार राष्ट्रिय सभाका २७२ सिटका लागि निर्वाचन हुन गइरहेको हो । त्यसका साथै थप ७० सिट आरक्षण सिटको लागि पनि मतदान हुन गइरहेको हो । उक्त सिटहरु भने कम्तीमा पाँच प्रतिशत मत हासिल गर्ने पार्टीहरुको बीचमा बाँडफाँड हुनेछ । 

यसअघि सन् २०१३ मा भएको निर्वाचनमा पाकिस्तानको पीएमएल–एन पार्टीले जित हासिल गरेको थियो । यसपटक भने यो पार्टीका उम्मेदवार सरिफलाई बेलायतबाट फर्किएसँगै पक्राउ गरिएको थियो र उनी मतगणनासम्म बाहिर आउन पाउने छैनन् । इमरान खानले मुलुकको भ्रष्टाचारको विषयमा ल्याएको योजनाहरुको कारण उनको पार्टीले यो निर्वाचनमा जित हासिल गर्नसक्ने धेरैको अनुमान रहेको छ ।  पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनेजर भुट्टोका छोरा बिलावाल भुट्टो जर्दारी पनि प्रधानमन्त्री बन्ने लाइनमा छन् । (एजेन्सी) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ