काठमाडौं । २०७४ सालको निर्वाचनमा उथलपुथल भयो । जित्नेले पनि हारे र हार्नेले पनि जिते । त्यसमा लहडले पनि काम गर्यो । तर त्यो लहडमा परेर नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवारलाई भोट हालेर जिताएपछि एक ८१ वर्षे वृद्ध भने पछुताएका छन् ।
स्याङ्जा नगरपालिकाका ८१ वर्षे मोतिलाल अर्यालले नेकपाका उम्मेदवारलाई भोट हालेपछि अहिले पोइल गएजस्तो भएको बताए ।
उनलाई अहिले निकै पछुतो महसुस भएको छ । उनले भने, ‘यसपटक केही गर्छ कि भनेर हावा चल्यो । समाजबाट अलग हुन सकिएन । अनि लौ त भनेर त्यतै समर्थन गरियो । तर पाँच महिना भइसक्यो सरकार चलाएको । ओली सरकारले केही पनि काम गरेको छैन ।’
‘पोइल’ ?
समाजले यो शब्दलाई राम्रो मान्दैन । हुँदाखाँदाको घर छाडेर अर्कैसंग जानु वा माइती छाडेर विधिपूर्वक बिहे नगरी भाग्नुलाई पोइल जानु भनिन्छ । त्यो महिलाको हकमा लागु हुन्छ । पुरुष कसरी पोइल ? खपिनसक्नु भएपछि अर्यालले चयन गरेको गरेको शब्द हो । अर्यालले आफूलाई गम्भीर पार्दै भने – ‘हो पोइल’ ।
किन त ? उनले मनको कुटुरो खोल्दै अगाडि भने – ‘म १९९४ सालमा जन्मेको मान्छे हुँ । नेपाली काँग्रेसको सुरुकै सदस्यता लिएको मान्छे हुँ । यसअघिसम्म काँग्रेसलाई सघाउँदै आएको थिएँ । मेरो परिवारै काँग्रेस हो । तर एउटा हावा लाग्दो रै’छ । गाउँ नै खन्निएर नेकपातिर गयो । त्यहाँ त्यतिबेला एमाले थियो । आफू एक्लो बन्न सकिएन । आस्थावान पार्टीलाई चटक्कै छाडियो । मलाई पोइल गएजस्तै भएको छ । भएखाँदाको घर छाडेर अर्कैसंग जाँदा जस्तो हुन्छ त्यस्तै भएको छ । पोइल जाँदा पनि कुनै राम्रो भए त हुन्थ्यो नि । नराम्रो भएपछि पछुतो बाहेक के हुन्छ ?’
के गर्लान् त अर्यालले ?
‘पछुतो लागेकाले अब पाप पखाल्नु पर्ला । मजस्ता धेरै छन् त्यता लागेका । मजस्ता धेरै पोइल गएका थिए । (हाहाहा.......) फर्कन्छन् ढिलोचाँडो आफ्नो पुरानै घरमा । म बुढाको त मन के जान्थ्यो होला र त्यता भोट हाल्ने तर परिवार सबै गएपछि नैतिकताको जिम्मा मैले लिनैपर्छ । परिवार पनि फर्कने मनस्थितिमा छ । गाउँलेहरुले पनि धोका खाइयो भनिसकेका छन् । खोइ कसरी पो त्यता मन गएछ अहिले सम्झँदा आफैलाई अचम्म लागेको छ ।’