arrow

चन्द्र शमशेरको चिनो 'चन्द्रेश्वर सत्तल' स्वामीको संग्रहालय, सरकार बेखबर  

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ साउन ९ बुधबार
sattal_news.jpg

काठमाडौं । गोरखा भूकम्प अघि भत्किनै लागेका र भत्किसकेका ऐतिहासिक संरचना पुनःनिर्माण अर्थात् जिर्णोद्धारमा कसैको ध्यान गएको थिएन । मक्किएर बसेका ति संरचनाहरु जब भूकम्पले क्षतविक्षत बनायो, त्यसपछि चल्यो पुनःनिर्माणको चटारो । अनि झिक्न थालियो अनेक खालका उपाय । कंक्रिट प्रयोग गरेर धमाधम निर्माण गर्नेतिर एक हुल (सरकार)अघि बढ्यो । तर, एक हुल मान्छेहरु पुरातात्विक महत्वका संरचनाहरुलाई पहिलेकै अवस्थामा फर्काउनुपर्छ र कंक्रिट प्रयोग गर्नु हुँदैन भन्ने पक्षमा उभिए । तर्क वितर्कहरु भए । कुनै कुनै ऐतिहासिक संरचना पुनःनिर्माणको निधो गर्न निकै माथापच्छी भयो ।

जस्तो, ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण । अहिले पछिल्लो समय काठमाडौं महानगरपालिका बसेको ऐतिहासिक बाघदरबार अर्थात हरिभवन भत्काउने कुरामा पनि त्यही अवस्था सिर्जना भएको छ । मूल कुरा अहिले एक हुल मानिस ति सम्पदाको पुरातात्विक महत्व हराउनु हुँदैन भन्ने पक्षमा प्रष्टसँग उभिएका छन् । उनीहरुले सम्पदा नजोगाई भोलि सम्वृद्धि हासिल गर्न सकिँदैन र हाम्रो मौलिकता एवं पहिचान रहँदैन भन्ने गम्भीर चिन्ता गरेका छन् । 

ता कि अहिले चलनचल्तीमा रहेको कंक्रिटतन्त्रलाई चुनौती दिएका छन् । पूराना घरहरु भत्काईनु हुँदैन सवलीकरण गर्नु पर्दछ, भन्ने तर्क हो उनीहरुको । यसैलाई चिन्तकहरुले सुल्टो बहस भनेका छन् । पुरातत्व, ईतिहास र संस्कतिका अध्येयताहरु आधुनिक पुनःनिर्माण इत्तर विचारलाई नै सुल्टो बहस भन्छन् । यही सुल्टो बाटो वा बहसको उदाहरण हो । पाशुपत क्षेत्रमा रहेका चन्द्रेश्वर सत्तल । तीस वर्षअघिनै आधा भत्किसकेको र कसैलाई हरौँ नै नलाग्ने चन्द्रेश्वर सत्तल सग्लै छ । चन्द्रेश्वर सत्तल अहिले सग्लै देख्न सकिन्छ । 

विक्रम संवत १०६० मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले बनाएको सत्तल हो यो । चन्द्र शमशेरले आफ्ना केही परिवारका सदस्य (छोरा, छोरी, श्रीमती)को उन्नती प्रगतिका लागि पूजा आजा गर्न जाँदा बस्नको लागि यो सत्तल बनाएका थिए । नेपालमा औद्योगिक उन्नतीको सुरुवात गर्ने राणा प्रधानमन्त्रीका रुपमा चिनिन्छन्, चन्द्र शमशेर । दक्षिण एसिया अन्धकारमै हुँदा नेपालमा फर्पिङमा जलविद्युत आयोजना बनाउने राणा प्रधानमन्त्री समेत उनै हुन् । राणाहरुले नै औद्योगिक क्रान्तिको सुरुवात गरेका थिए भन्दा अहिले कसैले सहदैनन्, त्यो कुरा । 

भन्न खोजिएको मूल कुरा त्यो बेला बनेका ऐतिहासिक धरोहर नेपाली जनका लागि अनन्तकालसम्म सम्वृद्धिको मार्गदर्शन हुन् । त्यसको बलियो तर्क हो,–३० वर्षको उमेरमा कखरा पढेर पछि वेदशास्त्रमा आचार्य र विद्यावारिधि गर्ने स्वामी प्रपन्नाचार्यलाई राख्ने ठाउँ त्यही राणाकालीन चन्द्रेश्वर सत्तल बन्नु । चन्द्रेश्वर सत्तल अहिलेसम्म रहनुमा भने स्वामी प्रपन्नाचार्यले त्यहाँ बस्न मान्नुनै मूल कारण हो । यदि स्वामी प्रपन्नाचार्य सुविधायुक्त ठाउँ खोज्दा हुन त ? त्यो सत्तल के हुन्थ्यो होला ? 

स्वामी प्रपन्नाचार्य आउनुअघि त्यो सत्तल आधा भत्किसकेको र ताला लागेर बसेको अवस्थामा थियो, पशुपति क्षेत्रविकास कोषका पूर्वसदस्य सचिव गोविन्द टण्डनले भने, ‘त्यो ०४५ साल तिरको कुरा हो । सत्तल भत्किसकेको थियो भनौँ । पछि स्वामी प्रपन्नाचार्यलाई राख्ने प्रबन्ध भएपछि कोषले त्यसको मर्मत सम्भार गरेको हो । केही कुरा हामीले सुधार गरेका थियौँ । केही कुरा पछि स्वामी आएपछि दानबाट पनि पुनःनिर्माण भए । यसरी अहिलेसम्म सग्लै राखिएको छ, चन्द्रेश्वर सत्तल ।’ नत्र उहिल्यै यसको कथा समाप्त भईसक्थ्यो । 

स्वामी आउनुअघि राणा दरबारका मान्छेले ताला लगाएर कब्जा गरेर राखेका थिए । त्यो बेला गुठी संस्थानले पनि त्यसमा केही गर्न सकेको थिएन । पछि गुठीले आफ्नो संरक्षणमा लियो । स्वामी प्रपन्नाचार्य नेपाल घुम्न आएका बेला उनलाई कहीँ न कहीँ राख्नु पर्ने कुरा चल्यो । त्रिपुरेश्वरमा कुटी तयारी गरियो । तर, त्यहाँ सन्यासीहरु बस्ने ठाउँ हो, बस्न पाँईदैन भनेपछि स्वामी प्रपन्नाचार्य दुःखी भए । उनी बनारस फर्किने मनस्थितिमा पुगे । पछि वडामहारानी ऐश्वर्यलाई आग्रह गरेपछि चन्द्रेश्वर सत्तलमा राख्ने अनुमति मिल्यो । प्रपन्नाचार्य पनि बस्न राजी भए । ऐश्वर्यले रुचाएपछि प्रपन्नाचार्य दुई पटक राजपरिषदको सदस्य भए ।

प्रपन्नाचार्यले त्यही सत्तल रोज्नुको पनि कारण छ भन्छन्, टण्डन । उनले आगाडि भने, ‘उहाँ दमको रोगी हुनुहुन्थ्यो । डिडडुल गर्न पाउने भएपछि त्यही ठाउँ रोज्नु भएको हो । सुविधा भएको ठाउँमा हिडडुल गर्न पाईँदैन भन्ने मान्यताले उहाँ यही बस्नु भयो । आर्यघाटबाट सत्तलसम्म १० मिनेटको बाटो हो । तर, उहाँलाई कुनै दिन ३ घण्टा लाग्थ्यो । बढी समय लाग्न थालेपछि स्ट्रेचरमा पछि लान थालियो ।’ 

संग्रहालय घोषणा तर, पूर्णता दिन बाँकी 
चन्द्रेश्वर सत्तल प्रपन्नाचार्य स्मृति संग्रहालय घोषणा भईसकेको छ । २०७२ सालमा पशुपति क्षेत्र विकास कोषले सत्तललाई संग्रहालय घोषणा गरेको हो । त्यो आधिकारिक निर्णय नै गरिएको छ । जहाँ स्वामी प्रपन्नाचार्यले प्रयोग गरेको सबै सामाग्री र अध्ययन अध्यापन गराएका किताब नै त्यँही छन् । अहिले उनकै शिष्य बासुदेव प्रपन्नाचार्यले रेखदेख गर्छन् । उनलाई कोषले सेवा सुविधै दिएर राखेको छ । अब संग्रहालयलाई मूर्तरुप दिन ढिलो गर्नु हुँदैन । जो नयाँ पिडी तथा अध्ययन गर्ने विद्यार्थीहरुका लागि महत्पपूर्ण ज्ञान केन्द्र हुन सक्छ । पछिल्लो समय संस्कृति मन्त्री रविन्द्र अधिकारी निकै सक्रिय भएका छन् । तर, यस्तो विषयमा पनि मन्त्री अधिकारीको ध्यान जान आवश्यक छ । सरकार यसमा बेखबर बन्नु हुँदैन ।  

को थिए स्वामी प्रपन्नाचार्य ?
१९८० सालमा पाँचथर जिल्लाको लालीखर्क बरडाँडामा जन्मिएका प्रपन्नाचार्यको खास नाम हो, काले राई । वनारस संस्कृत विश्वविद्यालयबाट वेदशास्त्रमा आचार्य र विद्यावारिधि गरेका उनले एक दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशन गरे । 
प्राचीन हिन्दु विज्ञान, वेदमा के छ ?, किराँतहरु मंगोलिसयाबाट आएका शरणार्थी होइनन् लगायतका उनका कृतिहरु चर्चित छन् । खोज, अनुसन्धान र विवेचनामा रुची राख्ने विद्वान प्रपन्नाचार्य संस्कृत, नेपाली र हिन्दी भाषाका ज्ञाता थिए ।

उनी हिन्दु धर्म र संस्कृति आधुनिक विज्ञानसँग समन्धित भएको विचार राख्दथे । उनको योगदानको कदर गर्दै किराँत समुदायले पनि अभिनन्दन पनि गरे । उनको २०७२ भदौ ४ गते ९२ वर्षको उमेरमा निधन भयो । लामो समयदेखि पिसाब र श्वास प्रश्वास सम्बन्धी रोगबाट पीडित उनको मृगस्थलीस्थित आश्रममा नै निधन भएको हो । सरकारले उनको योगदानको कदर गर्दै आजीवन मासिक ३० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । उनले ३० वर्षको उमेरदेखि लेखपढ सुरु गरेका थिए । 

विक्रम सम्वत २०१० सालमा एकजना गुरुका साथ लागेर भारतको बनारस गएका उनी २०३७ सालमा नेपाल आएर धर्म, संस्कृतिको प्रचार प्रसारमा लागेका थिए । विभिन्न धर्म, संस्कृतिका वारेमा पुस्तक लेखेका प्रपन्नचार्यको वेदमा के छ ? नामक पुस्तकले सन् १९८३ मा गुणराज पुरस्कार पाएको थियो । राई परिवारमा जन्मिएर समेत वेदको ज्ञाता बनेकाले उनलाई संस्कृत विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ