अहिले नेपालीलाई खान लगाउन दु:ख छैन 'माथि उठिसके' : ओली
प्रकाशित २०७५ साउन ९ बुधबार
578
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपालीलाई खान लगाउन दु:ख नभएको बताएका छन् । प्रधानमन्त्री निवासमा बुधबार भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा प्रधानमन्त्री ओलीले भने, “अब नेपालीहरु खान र लाउनबाट माथि उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तिमा लाग्न सक्ने अवस्थामा पुगेका छन् ।”
नेपाललाई लामो समय गरिब बनाएर खाना लाउनबाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पुर्याएको प्रधानमन्त्री ओलीले बताए । प्रम ओलीले भने “तर अब त्यो अवस्था बाँकी रहेन ।” उनले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताए। कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ त्यसैअनुसार शिक्षण संस्था स्थापना गर्नुपर्ने बताए ।
अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका लागि गौरवभन्दा पनि पीडाको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “चाहिएको छ कृषिविज्ञ प्रमाणपत्र छ अरू नै विषयको, यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “अनि प्रमाणपत्र पाउँदाको उत्साह केही दिनमै पीडामा परिणत हुन्छ ।”
सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिश गर्ने उनले स्पष्ट गरे ।