काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ बिहिबार हुँदै छ । समितिको गत सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति तय गरेको थियो ।
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध पाँचवटा उजुरी संघीय संसद्मा दर्ता भएका छन् । जोशीले समितिमा प्राप्त उजुरीको जबाफ दिनेछन् । त्यसपश्चात प्रक्रिया अघि बढ्नेछ ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।
संवैधानिक परिषद्ले सिफारिस गरेको नामलाई संसदीय सुनुवाइ समितिका दुई तिहाइ सदस्य वा कम्तीमा १० जनाले अस्वीकार गर्न सक्ने व्यवस्था छ ।
नाम अनुमोदन भए जोशी २०७६ असोज २३ गतेसम्म प्रधानन्यायाधीश बन्नेछन् ।