arrow

‘मार्सीभातका प्रचारदाता’ प्रसाईलाई अब कहिले ?

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
durga-prasai.jpg

काठमाडौं। मानिसको इज्जत उसको नैतिकतामा भर पर्छ। उसले आफ्नो नैतिकता बचाउन अनेक प्रपञ्च रहेको छ। मेहनत गरेको हुन्छ। जुन दिन उसको मति बिग्रन्छ त्यो दिन उसले गरेको कमाई सबै सकिन्छ। उसको इज्जत भुइँमा आएर अडिन्छ। पद र प्रतिष्ठाले पनि मानिसलाई चढाउने वा गिराउने खेल खेल्छ । हालै कानुन मन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिनु परेको छ। उनको कार्यशैलीमा इमानदारी थियो। 

प्रतिनिधिसभाको निर्वाचनमा पनि उनले भारी मतले जिते। सिन्धुपाल्चोकबाट चुनाव लडेका तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरालाई हराएका थिए। तत्कालीन एमालेका तामाङलाई माओवादी केन्द्रको समर्थन थियो भने जबरालाई काँग्रेसले काँध थापेको थियो। 

उनले कानुनका कतिपय विषयमा ऐन बनाउन निकै भूमिका खेले। छोटो समयमा पनि उनले राम्रो छाप छाड्दै थिए। तर अचानक उनी आफ्नो मन्त्रालयको विषयभन्दा बाहिर गए। जानकारी नभएको विषयमा हात हाल्दा ठूलो दुर्घटनामा फसिन्छ भन्ने उनले बुझेनन्। उनी ‘मार्सीभातका जन्मदाता’ दुर्गा प्रसाईंको बोली बोल्न खोज्दा चिप्लिए। 

मार्सी भात सहजै उपलव्द हुने प्रकारको चामल हैन। ग्रामिण भेगमा खाना निकै गाह्रो हुने मोटो चामल हो मार्सी। तर जुम्ली मार्सी भने मोटै भए पनि धेरै महंगोमा पर्दछ। 

उच्च उचाईमा फल्ने भएकाले जुम्ली मार्सीको भाउ निकै महंगो छ । त्यो मार्सी चामलको भात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई खुवाएर उनी एकाएक चर्चामा आए । 

त्यसअघि उनी झापाको बी एण्ड सी अस्पतालका संचालकका रुपमामात्र चिनिन्थे । प्राडा गोविन्द केसीको आमरण अनसनपछि उनी एकाएक चर्चामा आएका हुन् । 

नेकपाका कार्यकर्ता भएकैले उनले गोविन्द केसीलाई गाली गर्नु स्वभाविकै हो । त्योभन्दा ठूलोकुरा उनी अस्पतालका संचालक भएकाले उनले गोविन्द केसीलाई गाली गर्नु उनको वाध्यता बन्यो । 

गोविन्द केसीले जथाभावी चिकित्सा शिक्षाको नाममा ब्यापार गर्न रोक लगाउन १५ औं चरणको अनसन बसे । उनले सर्वसुलभ उपचार र सर्वसुलभ चिकित्सा शिक्षाको लागि अनसन बसेका हुन् । 

न्यूनतम पूर्वाधार नै पूरा नगरी मेडिकल शिक्षा संचालन गर्न खोज्ने दुर्गा प्रसाईंहरु डा केसीसंग आत्तिएका हुन् । त्यसपछि उनीहरुले अपनाउने भनेको कसरी अरुलाई बदनाम गरेर आफू राम्रो बन्ने र आफ्नो काम सहज बनाउने भन्ने हो । 

त्यस्तै भयो । प्रसाईले जसरी पनि मेडिकल कलेज संचालन गर्नका लागि अभिभावक फकाउने षड्यन्त्रमा लागे । सो क्रममा उनले बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरुले सर्टिफिकेट लिनका लागि आफ्नो अस्मिता बेच्नुपर्ने भनेका थिए । उनले भाँती पुर्याउन जानेनन् । 

आफ्नो स्वार्थका लागि तीन करोड नेपालीको शिर झुकाउने भाषा बोले । अनि आफ्ना अध्यक्षद्धयले तिनै प्रसाईंको घरमा मार्सी चामलको भात खाए भनेर कानुन मन्त्री तामाङले पनि प्रसाईंको भाषा बोले । 

त्यसपछि यो तुहियो तामाङको सुनौलो पाँच वर्ष नै कानुन मन्त्रालय चलाउने सपना । नेपालमात्र होइन विश्वभर छरिएर रहेका नेपालीले समेत तामाङको चर्को आलोचना गरे । अनि पार्टी वाध्य भएर उनलाई फिर्ता बोलाउन पुग्यो । 

कानुन मन्त्री चिप्लिए । उनी बुद्धिजीवी पनि हुन् । उनी कानुनी अक्षर पनि बुझ्छन् । इमानदार पनि थिए त्यसअघि । तर यहाँ उनको विगतले काम गरेन । वर्तमानले जित्यो । उनी नागरिक समाज अगाडि घुँडा टेक्न वाध्य भए । 

जनताले तामाङलाई त कार्वाही गरे प्रसाईको पालो कहिले ?
जुन काम गरेर शेरबहादुर तामाङले जागिरबाट हात धुनुपर्यो त्यही काम गर्न उक्साउने ‘स्वास्थ्य ब्यापारी’ प्रसाई खुलेआम हिंडिरहेका छन् । उनलाई पनि कार्वाही गर्नुपर्छ भनेर आवाज नउठेको होइन । तर उनलाई राजनीतिक रंंगले छोप्यो । 

प्रसाईंलाई पनि कार्वाही गर्न विपक्षी दलका नेता तथा कार्यकर्तासंगै नागरिकले दबाब दिएका थिए । तर त्यति दबाब दिएनन् जति तामाङलाई दिएका थिए । तामाङलाई मन्त्रिपरिषदबाट हटाउनु पर्छ भनेर नेकपाका नेताहरुले पनि आवाज उठाएका थिए । 

उनीहरुले सामाजिक संजालको भरपूर प्रयोग गरे । तर प्रसाईले त्यस्तो बोले उनलाई पनि कार्वाही गर्नुपर्छ भनेर नेकपाका नेताहरुले आवाज उठाएनन् । सम्भवतः मार्सी चामलको भात खान पाउने आशा र अभिलाषा अझै जिवितै छ । 

तीन करोड नेपालीको शिर झुकाउने बोली बोल्ने प्रसाईलाई पनि कार्वाही गर्नुपर्ने होइन ? प्रसाईले लाजकाज ‘मैले त्यस्तो भनेको हैन’ भनी पत्रकार सम्मेलन गरे बुधबार । उनले माफी पनि मागे । तर गल्ती गर्ने अनि माफी मागेर पुग्छ ? सजाय भोग्नु नपर्ने ? राष्ट्रिय महिला आयोगले प्रसाईलाई कार्वाही गर्न सिफारिस गरे पनि चासो देखाइएको छैन । 

नेकपाका महिलालाई छोएन तामाङ र प्रसाईंको बोलीले ? 
तामाङ र प्रसाईले नेपाली छात्राबारेमा नराम्रो बोले । तर यसबारेमा नेकपाका अधिकारकर्मीहरु अनि नेकपाका महिला नेतृहरुलाई असर परेन । नेपाली अस्मितामाथि धावा बोलिँदा पनि चुप लागेर बस्नु यो कस्तो अधिकारको लडार्इँ । कतै यहाँ पनि मार्सी चामल अडेको छ कि । 

त्यस्तो कदापि नहोस् किनकि यो कुनै दलको हैन सिंगो नारीमाथिको अपमान हो । व्यापारका नाममा नेपाली चेलीलाई बदनाम गर्न पाइँदैन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ