arrow

सुत्केरी भैँसीलाई भत्ता !

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
bufflow.jpeg

बाबियाचौर, म्याग्दी ।  मंगला गाउँपालिकाले सुत्केरी भैँसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए ।

कुहुँका आठ, बाबियाचौरका एक र बरंजाका १० कृषकलाई सुत्केरी भैँसीको आहराका लागि भत्ता उपलब्ध गराइएको हो । व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले आगामी वर्षमा समेत कार्यक्रमलाई निरन्तरता दिने खड्काले बताए । घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिँदा पशुको आयु कम हुने, विभिन्न रोगले सताउने, बिरामी हुने र दूध उत्पादन घट्ने समस्या छ ।

यसैगरी मंगला गाउँपालिकाले पाँचजना व्यावसायिक बाख्रापालक कृषकलाई रु एक लाखका दरले अनुदान उपलब्ध गराएको छ । हिदीका देवेन शर्मा, बमबहादुर पुन, थाइवाङका विश्वास पौडेल, कुहुँका रणबहादुर खत्री र बरंजाका पूर्ण आचार्यले बाख्रापालन व्यवसाय विस्तार र खोर सुधारका लागि अनुदान पाएका छन्  ।

कुहुँका योगेन्द जुक्जाली, अर्मन धाराका वीरबहादुर खड्का, हिदीका बेलबहादुर विक, पखेरका डेकबहादुर थापा र भाइवाङकी थिरमती शर्माले उन्नत जातको बोका खरिद गर्न रु १५ हजारका दरले अनुदान पाएका छन् ।

मंगला गाउँपालिका– ४ मा बुकेनी व्यावसायिकउन्मुख बाख्रापालन समितिमार्फत बाख्रा पैँचो कार्यक्रम शुरु भएको छ । कार्यक्रममार्फत दुई वर्षअघि कुहुँको पैँयुपाटाको समूहलाई बाख्रा खरिदका लागि दिइएको अनुदान फिर्ता गरेर बुकेनीको समूहलाई उपलब्ध गराइएको छ ।

पचास जना आबद्ध समितिअन्तर्गत १०-१० जनाका दरले पाँच वटा समूह बनाइएको छ । प्रत्येक समूहलाई उन्नत जातको बोका खरिदका लागि रु १५ हजारका दरले उपलब्ध गराइएको छ । बोका ढुवानीमा थप रु १० हजार अनुदान पाएका छन् । प्रतिकृषक तीन वटाका दरले बाख्रा खरिद गर्न रु नौ हजारका दरले चार लाख ५० हजार वितरण गरिएको छ । सो रकम कृषकलाई दुई वर्षपछि फिर्ता गरेपछि अर्को समितिलाई वितरण गर्ने प्रक्रिया रहेको खड्काले जानकारी दिए । खोर मर्मतका लागि थप रु पाँच हजारका दरले रु दुई लाख पाँच हजार वितरण गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ