डा. केसीपक्षसँग जुट्यो सहमति, सम्झौतामा हस्ताक्षर गर्न रोजियो बालुवाटार
प्रकाशित २०७५ साउन १० बिहिबार
186
Shares
काठमाडौं । डा. गोविन्द केसी अनसन बसेको २७औँ दिनमा सरकारसंग सहमति भएको छ । केसी र सरकारी वार्ता टोलीबीच २७ औँ दिन विहिबार दिउँसो सहमति जुटेको हो । यद्यपि, सहमतिले अन्तिम रुप पाएको छैन । सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाने बताईएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको वार्तामा जुटेको सहमतिलाई अन्तिम रुप दिन बालुवाटार जमघट निर्णायक हुने र त्यही सहमतिपत्रमा हस्ताक्षर हुने सरकारी वार्ता टोलीका एक सदस्यले बताएका छन् ।
केसीको वार्ता टोलीका सदस्य वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले अधिकांश विषयमा सहमति जुटिसकेको बताएका छन् । उनले सञ्चारकर्मीसँग भने, ‘धेरैजसो विषयमा सहमति जुटिसकेको छ, अब केही विषयमा मात्र सहमति हुन बाँकी छ ।’ उनले यो नै अन्तिम नभएको र औपचारिक वार्ता बालुवाटारमै हुने बताएका छन् ।
‘एक दुईओटा टेक्निकल कुराहरु छन् र मेजर कुराहरु छन्, उनले भने, ‘डा. केसीसँग अब हामी गएर अन्तिम सल्लाह गर्दैछौँ । त्यसपछि हामी प्रधानमन्त्री निवास बालुवाटार जान्छौ । केही मुख्य बुँदाहरुमा सहमति जुटेको छ ।’
डा. केसीले मन खिन्न पार्नु भएन र ‘गो अहेड’ भन्नुभयो भने वार्ता सफल हुन्छ, उनले भनेका छन् । मंगलबार राति मात्रै डा. केसी पक्षले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा सच्याउनु पर्ने २२ बुँदा सरकारी टोली बुझाएको थियो ।