arrow

दरबार हाइस्कूल पुनः निर्माण शुरु

logo
शर्मिला पाठक,
प्रकाशित २०७५ साउन १० बिहिबार
darbar-high-school.jpg

काठमाडौँ ।  ऐतिहासिक दरबार हाइस्कूल १९ महिनामा नै सक्ने गरी आजदेखि पुनःनिर्माणको काम शुरु भएको छ । विसं २०७२ मा गोरखा भूकम्पले गर्दा पूर्ण रुपमा क्षति पुगेको स्कूल पुनःनिर्माणका लागि बिहिबारदेखि क्षति पुगेको संरचना भत्काएर सँगै पुनःनिर्माणको थालनी भएको हो । चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सनले निर्माणको काम गर्नेछ । निर्माणमा पनि नेपाली कामदारसँगै चिनियाँ टोली सहभागी रहनेछन् ।

अबको १९ महिनामा नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी करीब रु ८० करोड लागतमा काम हुने विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद दाहालको बताए । भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति चिनियाँ सरकारसँग भएको छ । विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा सो विद्यालय स्थापना भएको थियो । लामो समय विसं १९६४ मा सर्वसाधारणका छोराछोरीलाई संस्कृत पढ्नका लागि मात्र खुला गरियो र २०४८ सालदेखि मात्र पूर्ण रुपमा सर्वसाधारणका विद्यार्थीका लागि खुला गरिएको हो ।

शुरुमा सो विद्यालयमा निःशुल्क पठनपाठन हुने गथ्र्याे । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । सबैभन्दा पुरानो विद्यालयको क्षेत्रफल झण्डै दश रोपनी छ । अब विद्यालयको निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि आधुनिक निर्माण सामग्री प्रयोग गरिने बताइएको छ । निर्माण सामग्री केही चीनका र केही नेपालका पुनःनिर्माण गर्ने जनाइएको छ ।

अहिले झण्डै तीन सय विद्यार्थी कामपा–२७ मा पर्ने भानु माविमा अध्ययनरत छन् । हाल उनीहरुलाई वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन भइरहेको छ । पुरानो विद्यालय भए पनि पहिलेजतिको महत्व अहिले घटेको विद्यालय परिवारले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेको प्राध्यापक दाहालको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा भूकम्पका कारण क्षति पुगेका सबै विद्यालय निर्माण गरिसकिने बताउनुभएको छ । यसअघि काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेपछि काम अघि बढ्न सकेको थिएन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रतिनिधि दिलीप श्रेष्ठले २०७२ सालको भूकम्पले गर्दा सात हजार ५०० विद्यालयमा क्षति पुगेको र हालसम्ममा तीन हजार ६०० निर्माण भइसकेको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ