ओलीले फेरि फुटाए मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय दुई टुक्रा
मन्त्रालयको संख्या २२
प्रकाशित २०७५ साउन १० बिहिबार
276
Shares
काठमाडौं । सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर मन्त्रालयको संख्या २२ पुर्याएको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि र भूमिव्यवस्था मन्त्रालयलाई दुई टुक्रा पारेको हो । कृषि तथा पशुपंक्षी एउटा र भूमि व्यवस्था तथा गरिबी निवारण अलग अर्को मन्त्रालय हुनेछ । यसअघि प्रशासन सुधार आयोगले दिएको प्रतिवेदनलाई लत्याउँदै सरकारले २१ मन्त्रालय बनाएको थियो । चार मन्त्रालय एउटैमा गाभेर बनेको मन्त्रालय अब दुई टुक्रा भएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल अब कृषि तथा पशुपंक्षी मन्त्री हुनेछन् भने, स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याल भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी पाउँदै छिन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागि भएपछि मन्त्रालय टुक्र्याउनु पर्ने अवस्था आएको हो ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पूर्वसहमति अनुसार एक राज्यमन्त्री पाउनु पर्ने बताउँदै आएका थिए । पछि प्रधानमन्त्रीलाई राज्यमन्त्री अर्यालले असहयोग गरेको चुक्ली लगाएपछि सत्ता शन्तुलन मिलाउन र समावेशीता कायम गर्न मन्त्रालय टुक्रयाईएको हो । त्यसैत सरकारमा महिला सहभागितालाई लिएर आलोचना भईरहेको छ ।
यसैबीच, सरकारले प्रेस काउन्सिल नेपाललाई मिडिया काउन्सिल नामाकरण गर्ने तयारी गरेको छ । त्यसका लागि विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ । विहिबारको मन्त्रिपरिषदले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवधेशकुमार त्रिपाठी र सदस्यमा किशोरप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।