वीपीको नामैसँग डरायो केपी सरकार, लाग्यो वीपी मेमोरियल क्यान्सर अस्पताल ध्वस्त पार्ने रणनीतिमा
प्रचण्डपुत्री रेणुको योजनामा वीपी क्यान्सर अस्पतालमाथि थालियो षडयन्त्र
प्रकाशित २०७५ साउन १० बिहिबार
717
Shares
काठमाडौं। भरतपुर महानगरपालिका वडा नं ७ मा पचहत्तर विगाहा जमिनमा रहेको वीपी मेमोरियल क्यान्सर अस्पतालको जमिन सरकारी निर्णय गराई नै अस्पतालबाट खोस्ने प्रयास भएको छ।
अस्पतालको भोगचलनमा रहेको जमिन खोस्ने भरतपुर महानगरपालिकाको यो प्रयासमा सरकारले सहजिकरण सहित निर्णय गर्ने अन्तिम तयारी गरेको छ। महानगरपालिकाको प्रस्ताव अनुसार सरकारले अस्पतालको जमिन निर्णय गराई महानगरपालिकालाई हस्तान्तरण गर्न लागेको हो।
भरतपुर महानगरपालिकाले अस्पतालको जमिनमा फनपार्क र सिटी सेन्टर खोल्ने योजना बनाएको छ। भरतपुरमा विवादास्पद निर्णहरु गराई विवादमा परेकी प्रचण्डपुत्रीको योजना अनुसार जमिन खोस्ने प्रयास भएको स्थानिय सरोकारवालाहरुको भनाइ छ। उनीहरुले यो प्रकरणमा सरकारी प्रयासको विरोध गरेका छन्।
अस्पतालले स्वदेश तथा विदेशबाट आएका हजारौं विरामीहरुलाई स्वास्थ्य सेवा उपलव्ध गराउँदै आइरहेको छ। सो अस्पतालमा हाल करिव ३०० शैया रहेको र निकट भविष्यमै १ हजार शैया बनाई चाडै नै क्यान्सर एकेडमी एण्ड रिसर्च सेन्टरमा परिणत गर्न खोजिएको छ।
रिसर्च सेन्टरका लागि भइरहेको जमिन अपुग भई नवलपरासी जिल्लामा थप करिव २० विघाहा जमिन भोगचलन गरिरहेको अस्पतालका सञ्चालक समितिका पूर्व सदस्य दिनेश कोइरालाले बताए।
अस्पताललाई नै जग्गा अपुग भइरहेको अवस्थामा उल्टै त्यहाँको जग्गा हडपेर दुरुपयोग गर्ने कार्यमा केपी ओली नेतृत्वको सरकारले सहयोग गर्ने निर्णय गर्न लागेको प्रयासप्रति नेपाली काँग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल र छिमेकी मुलुक भारतबाट समेत उपचार गराउन आउने सयौं विरामीहरुलाई स्वास्थ्य सेवा उपलव्ध गराउन अस्पताललाई सबै किसिमका पूर्वाधार बनाई, सुविधा सम्पन्न र अत्याधुनिक अस्पताल बनाउनु पर्नेमा अस्पतालले भोगचलन गर्दै आएको जग्गा अतिक्रमण गरि अस्पतालकै हाताभित्र विरामीहरुलाई नै असर पार्नेगरि नयाँ संरचना बनाउने उद्धेश्यले भइरहेका गतिविधी कुनै पनि हालतमा नगर्न नेपाल सरकार र सम्वन्धित सबै निकायहरुलाई काँग्रेसले सजग एवं सचेत गराएको छ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको स्मृतीमा भरतपुरमा क्यान्सर अस्पताल खोलिएको थियो। तत्कालिन प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले चीन भ्रमणमा जाँदा चीन सरकारसँग क्यान्सर रोगबाटै निधन भएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको स्मृतीमा अस्पताल स्थापनाको लागि सहयोग गर्न आग्रह गरेका थिए। सोहि आग्रहपछि चीनियाँ सरकारले भरतपुरमा अस्पताल स्थापना गर्न सहयोग गरेको थियो। वागवानीको रुपमा रहँदै आएको सो स्थानलाई पछि आवासीय अस्पतालको रुपमा विकसित गरिएको थियो।
काँग्रेसले वीपी कोइरालाको स्मृतीमा बनाइएको अस्पतालको अस्तित्व नियोजित रुपमा मेटाउने खालको गतिविधी नगर्न सचेत गराउँदै अन्यथा यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंको हुने नेपाली काँग्रेसले भनेको छ।
काँग्रेसले विज्ञप्ती निकाल्नु अघी प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेरै काँग्रेस सभापति शेर हादुर देउवाले अस्पतालको परिसरमा फनपार्क लगायत सिटी सेन्टर खोल्ने योजना लिएर आएको महानगरलाई अस्पतालको जमिन हस्तान्तरण नगर्न भनेका थिए। प्रधानमन्त्री ओलीले यस बारेमा स्पष्ट कुरा नगरेको काँग्रेसको भनाइ छ।
भरतपुर महानगरको प्रस्ताव अनुसार सरकारले मन्त्रीपरिषदबाट निर्णय गराई अस्पतालको जमिन महानगरलाई हस्तान्तरण गर्न तयारी गरेको छ।