नुवाकोटमा प्रहरीले लौरो भाचिनेगरि काँग्रेस नेता कार्यकर्तामाथि गर्यो प्रहार
सरकार अधिनायकवादी भएकोमा काँग्रेस आक्रोशित
प्रकाशित २०७५ साउन ११ शुक्रबार
299
Shares
काठमाडौं। नेपाली काँग्रेस विदुर नगर समिति र नेपाली काँग्रेसका भातृ संस्थाहरुको संयुक्त आयोजनामा विदुर नगरपालिकाद्वारा विभिन्न शीर्षकमा लगाइएको कर प्रणालीको विरोध गर्दै शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ।
विदुर नगरपालिकाका मेयर र उपमेयरको आदेशमा डिएसपीको कमाण्डमा खटिएको प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले नगरपालिकाको गेटमा जुलुशमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको काँग्रेसले जनाएको छ।
प्रहरीले प्रहार गरेको लाठीचार्जमा परि नेपाली काँग्रेस नुवाकोट जिल्लाका निवर्तमान सभापति ध्रुव अधिकारी, जिल्ला प्रवक्ता राजु थापा, सदस्य धनसिंह तामाङ्ग, क्षेत्रीय सभापति जगतबहादुर तामाङ्ग, नेपाल तरुण दल जिल्ला सचिव सुमन गिरी, नेपाल ट्रेड यूनियन काँग्रेस जिल्ला सदस्य सुनिल श्रेष्ठ, नेपाल तरुण दल जिल्ला सदस्य जग्गनाथ नेपाल घाइते भएका छन्।
आफ्ना माग राख्न संविधान प्रद्धत अधिकार प्रयोग गर्दा सांघातिक आक्रमण, धरपकड र हिरासतमा लिने घृणित कार्यको नेपाली काँग्रेसले घोर निन्दा र भत्सर्ना गरेको छ।
सरकारको यस्तै रबैया रहेमा नेपाली काँग्रेसले थप आन्दोलनका सशक्त कार्यक्रम ल्याउने पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गेको विज्ञप्तीमा चेतावनी दिइएको छ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा साउन १० मा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पार्टी पदाधिकारी, काठमाण्डौ उपत्यकाका ३ जिल्लाका सभापति र पार्टीका भातृ एवं शुभेच्छुक संस्थाका नेतृत्वको विषेश वैठक सम्पन्न भएको छ। वैठकले अधिनायकवाद उन्मुख सरकार विरुद्धमा जारी विरोध कार्यक्रमको समिक्षा गरेको पौडेलले बताए। वैठकले साउन १५ गतेको देशव्यापी विरोध प्रदर्शनलाई सफल बनाउन ऐक्यवद्ध ढंगले प्रस्तुत हुने निर्णय गरेको छ।
भातृ तथा शुभेच्छुक संस्थाहरुले मातहतका ७७ वटै जिल्लाका समितिहरुलाई सो दिनको विरोध प्रदर्शनमा व्यापक सहभागिता जनाउनका लागि परिचालन गर्ने निर्णय समेत भेलाले गरेको छ।