arrow

प्रेमको प्रतिक रानीमहल दरवार १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन ११ शुक्रबार
Ranimahal_photo.jpg

तानसेन । तानसेन नगरपालिका वडा  १३ मा रहेको ऐतिहासिक एवं पुरातात्विक प्रेमको प्रतिक रानीमहल  दरवार तानसेन नगरपालिकालाई हस्तानतरण गरिएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको एक कार्यक्रम विच पुरातत्व विभागले  १० बर्षको लागि  प्रेमको प्रतिक रानीमहल तानसेन नगरपालिकालाई हस्तानतरण गरेको हो ।

  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकोको उपस्थितीमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले रानीमहल  हस्तान्तरण पत्रमा हस्ताक्षर गरेका छन् ।  पुरात्व विभागले आगामी वि.स. २०८५ साल साउन १० गते सम्म रानीमहलको संरक्षण  व्यवस्थापन र सञ्चालनको  जिम्मेवारी तानसेन नगरपालिकामा दिएको छ ।  गत जेठ महिनामा पाल्पा भ्रमणको क्रममा  पर्यटनमन्त्री रविन्द्र अधिकारीले रानीमहल तानसेन नगरपालिकालाई हस्तानतरण गर्ने घोषणा गरेका थिए ।

पुरातत्व विभागबाट पहिलो अभ्यासको रुपमा प्रेमको प्रतिक रानीमहल  स्थानीय सरकारलाई हस्तानतरण गरिएको  हो । यो अभ्यासको परिणाम राम्रो भएमा  मन्त्रालयले अन्य स्थानका  मठ मन्दिर लगायतका पुरातात्विक महत्वका संरचनाहरु पनि स्थानीय सरकारलाई हस्तान्तरण गर्दै जाने पर्यटन मन्त्री अधिकारीले बताए । पशुपति, जानकी, मुक्तिनाथ र लुम्विनी बाहेक सबै क्षेत्रमा मठ मन्दिर, पुरातात्विक संरचनाहरु स्थानीय सरकारलाई हस्तान्तरण गरिने मन्त्री अधिकारीले बताए ।

हस्तान्तरण कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले प्रेमको प्रतिक रानीमहल दरवारलाई  प्रदेश ५ कै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताए । रानीमहल दरवारलाई प्रेमको प्रतिक रुपमा संसारमा चिनाईने छ । रानीमहल क्षेत्रको ऐतिहासिकता, धार्मिक पक्षको बारेमा संसारभर जानकारी गराईने छ । नेपाल आउने पर्यटकहरुलाई एकपटक भएपनि प्रेमको प्रतिक रानीमहल पुग्नै पर्ने गरी पर्यटकीय केन्द्र विन्दुको रुपमा तानसेन नगरपालिकाले विकास गर्ने नगर प्रमुख शाहीले बताए ।

पर्यटकिय पुर्वाधारको रुपमा अहिले  तानसेन बजार देखी नै रानीमहल दरवार सम्म जाने बाटो पिचको काम भईरहेको छ ।  सडक पिच भएपछि सदरमुका तानसेनबाट आधा घण्टामै रानीमहल दरवारमा पुगिने छ । पुरातत्व विभागले १ बर्ष अघि रानीमहल दरवारको जिर्णाद्धार सहित रंग रोगन गरी सजाएको छ । प्रेमको प्रतिक रानीमहल  दरवारमा पाल्पा र स्याङ्जा जिल्लाबाट आवत जावतको लागि कालीगण्डकी नदीमा डवल लेनको पक्कि पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।  गैडाकोट देखी चिनको नाका कोरला जोड्ने कालीगण्डकी करिडोर पनि रानीमहल दरवार भएर गएको छ । अहिले प्रेमको प्रतिक रानीमहल दरवार  क्षेत्रमा दैनिक २ सय देखी ५ सय सम्म पर्यटकहरु पुग्दै आएका छन ।

प्रेमको प्रतिक रानीमहल दरवार राणा खड्ग शमशेरले रानी तेजकुमारीको सम्झ्नामा वि.स. १९५५ मा निर्माण गरेका थिए । रानीमहल दरवार सदरमुकाम तानसेनबाट १३ किलोमिटर उत्तर कालीगण्डकी किनारमा रहेको छ । सदरमुकाम तानसेन वाट सवारी साधनमा ४५ मिनेट, पैदल ३ घण्टामा रानीमहल दरवारमा पुग्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ