arrow

गुरुपूर्णिमा : अरुको लागि सामान्य पर्व, गुरुकूलमा धुमधाम

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ साउन ११ शुक्रबार
cover_photo.jpg

नयाँ दिल्ली । श्री निवास संस्कृत विद्यापीठ नयाँ दिल्लीमा अध्ययनरत सुदिप पौडेल शुक्रबार विहानैदेखि अन्य दिन भन्दा केही व्यस्त देखिन्थे । गुरुकूलमा दैनिक अध्ययनको शिलशीलमा हुने व्यस्तता भन्दा भिन्न थियो पौडेलको शुक्रबारको व्यस्तता ।
त्यस्तै, अर्का विद्यार्थी विनायक धितालको पनि विहानैदेखिको दैनिकी बदलिएको थियो । आफूले अघिल्लो दिन अध्ययन गरेको विषयलाई आवृत्ति गर्ने विहानैदेखिको उनको दैनिकी गुरु पूजाको तयारीमा व्यतित भएको थियो ।

शुक्रबारको यस्तो व्यस्तता श्रीनिवास विद्यापीठका विद्यार्थीमा मात्रै नभएर समग्र नेपाल तथा भारतमा रहेका हजारौं गुरुकूलहरुमा रहेका विद्यार्थीहरु हुने गरेको छ । अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि यो पर्व त्यति विशेष मानिँदैन । गुरुकूल बाहेकका विद्यालयहरुमा गुरुहरुप्रति सद्भाव रहेका केही विद्यार्थीहरुले गुरुका लागि केही उपहार दिएर भेट्ने बाहेक अरु केही पनि विशेष कार्यक्रम गरी गुरुपूर्णिमा मनाउने गरिएको छैन । तर, गुरुकूलका विद्यार्थीको लागि त्यो छुट पनि छैन र त्यसरी गुरुपूर्णिमा मनाउन गुरुकूलका विद्यार्थीहरुको संस्कारले पनि दिँदैन ।

श्री लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विद्यापीठमा शास्त्री दोस्रो वर्षमा अध्ययनरत छात्र एकनारायण पौडेल आफ्नो विद्यापीठमा गुरुपूजालाई त्यस्तो महत्व नदिईएको बताउँछन् । त्यही माहोल नभएकै कारण आफू पनि संस्कृत गुरुकूलमा गएर गुरु पूर्णिमा मनाउने गरेको उनले बताए । आफूले मानेको गुरु भेट्नको लागि विद्यालय र विश्वविद्यालयको तुलनामा गुरुकूलहरु नै उत्कृष्ट गन्तव्य रहेको बुझाई पौडेलको छ ।

महर्षि सान्दिपनी राष्ट्रिय वेद विद्या प्रतिष्ठान उज्जैनबाट सामवेद पाँचौ वर्षमा अध्यनरत छात्र अनुराग त्रिपाठी पनि चार वेदका विभाजन कर्ता वेदव्यासको स्मरणमा मनाईको यो पर्व गुरुकूलमा मात्रै धुमधाम रुपमा मनाउने गरिएको बताउँछन् ।  माता र पिता पछिको तेस्रो स्थानमा रहेका आचार्य अर्थात् गुरुहरुलाई पूर्वीय शास्त्र अन्तर्गत्का विभिन्न उपनिषद्हरुमा देवता समान मान्ने गरिएको छ । पाश्चात्य संस्कृतिको विकासको कारण पछिल्लो समय गुरुहरुको महत्व कम हुने गरेको भएपनि पाश्चात्य संस्कृतिको हावा नलागेका संस्कृत गुरुकूलहरुमा भने यो पर्व अझै पनि धुमधामका साथ मान्ने गरिएको छ ।

यही देवता रुपी आचार्यहरुको स्मरण तथा सम्मानका लागि हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ गुरु पूर्णिमा । वेदलाई ४ भागमा विभाजन गरेका महर्षि वेदव्यासको स्मरणमा सबै गुरुहरुलाई  अज्ञानता रुपी भवसागरबाट पार गराउने मार्गदर्शकको रुपमा पूजा गरी यो पर्व मनाउने गरिएको छ ।  

गुरुपूर्णिमा सर्वप्रथम महर्षि वेदव्यासलाई गुरुको रुपमा द्वापर युगबाट गुरु पूर्णिमा मनाउन थालिएको हो । कलियुगको आजको कालखण्डसम्म आईपुग्दा गुरुपूर्णिमा पनि पूर्वीय पठन पाठन शैली र पाश्चात्य संस्कृतिको प्रभावको शिकार बनेको छ । अधिकांश शैक्षिक संस्थाहरुमा गुरु पूर्णिमालाई एउटा औपचारिक दिवसको रुपमा मनाउने बाहेक अरु खासै विशेष केही हुने गरेको पाईँदैन । तर, यो प्रचलनलाई अझैपनि हाम्रा संस्कृत गुरुकूलहरुmले भने जोगाईरहेका छन् ।

गुरुकूल एउटा संस्कृत सिकाउने शिक्षण संस्था मात्रै होईन । गुरुकूलले अहिले पनि विद्यार्थीमा संस्कार सिकाउने संस्थाको रुपमा आफ्नो पहिचान बनाएको छ । पछिल्लो समय पाश्चात्य शिक्षा प्रणालीले मानिसलाई व्यवहारिक बनाउने भन्दै व्यवहारिक शिक्षा तर्फ धेरै लगानी गरिरहेको छ । तर, हाम्रा परापूर्वकालदेखिको गुरुकूल प्रक्रियालाई भने धेरैले वास्ता गर्ने गरेको पाईँदैन ।

के छ गुरुकूलको महत्व ?
पूर्वीय संस्कृतिमा गुरुपूजाको विशेष महत्व रहेको । गुरुपूजाको दिन गुरुले दिएको आशीर्वाद अन्य दिनको आर्शीवादभन्दा विशेष मानिने भएकोले यस दिन गुरुआशीर्वादका लागि पनि टाढा टाढाबाट शिष्यहरु गुरुको समिपमा पुग्ने गर्दछन् । परलोक भईसकेका गुरुहरुलाई भने तस्वीरमा माल्यार्पण गरेर गुरु आराधना गर्ने प्रचलन छ ।

संस्कृतमा एक उक्ति छ गुरु व्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर । अर्थात् गुरुले नै ब्रह्मा समान ज्ञानको सृष्टि, विष्णु समान स्थिती र गुरुद्वारा नै महेश्वर समान अहंकार आदिको संहारकर्ताको रुपमा गुरुलाई मान्ने गरिएकको छ ।

गुरुकूल एउटा यस्तो शैक्षिक संस्था हो । जसमा पढाईको साथमा व्यवहारिक ज्ञान, संस्कार र जस्तो सुकै परिस्थितीलाई आत्मसाथ गर्नेसक्ने क्षमताको विकास हुन्छ । संस्कृतभन्दा बाहिरी दुनियाँले गुरुकूललाई रटन्ते विद्यालयको उपमा दिने गरेका छन् । तर, गुरुकूलको वास्तविकतालाई नबुझी रटन्ते विद्यालयको उपमा दिनु मूर्खता बाहेक केही पनि होईन भन्न सकिन्छ ।

कसरी भगवान समान भए आचार्यहरु ?
स्वामी गोविन्दाचार्य
संस्थापक अध्यक्ष तथा संरक्षक
श्रीनिवास संस्कृत विद्यापीठ
हाम्रो हिन्दू संस्कृतिमा अनेक किसिमका ‘देवता’हरु रहेका छन् । माता देवता, पिता देवता, गुरु देवता, अतिथि देवता, गरीब देवता गरी किसिम किसिमका देवताहरु छन् । हिन्दू संस्कृतिमा यस्तो व्यवस्था पाईन्छ कि जस्तै तिहारमा विभिन्न जनावर तथा पशुपंक्षीहरुलाई पूजा गरिन्छ । साथमा लक्ष्मीमाताको पूजासँगै दाजुभाइले दिदी बहिनीको समेत सम्मान गरिन्छ । हरिशयनी एकादशीमा हामी तुलसीलाई भगवानको रुपमा मानेर पूजा आराधना सहित विरुवा रोप्ने र हरिबोधनी एकादशीसम्म गर्ने गरिएको छ ।  

त्यसैले भगवानले पनि मानिसहरुमा बढ््दै गएको स्वार्थी प्रवृत्ति रोक्नको लागि आफ्ना पार्सद (सेवक)हरुलाई गुरुको रुपमा पठाएर धर्मको बारेमा शिक्षा दिने गरेका छन् । भगवानले नै अज्ञानका कारण मानिसले गर्ने गल्तीहरुलाई रोकेर आफ्नो लोकसम्म सबै मानिसहरुलाई पठाउने व्यवस्था गर्नको लागि नै आफ्ना पार्सदहरुलाई गुरुको भेषमा पठाएकोले सबै गुरुहरुलाई देवताको रुपमा मान्ने गरिएको छ ।

विद्यार्थीलाई वातावरणले नै संस्कारी बनाउँछ
जीवन शर्मा
प्राचार्य, श्री निवास संस्कृत विद्यापीठ
झण्डै दुई दशक अघि दिल्लीमा संस्कृत विद्यापीठ सञ्चालन गर्ने समयदेखि नै हामी विद्यार्थीहरुको शैक्षिक र व्यवहारिक विकास तर्फ केन्द्रित छौं । हाम्रो मूल उद्देश्य कुनैपनि विद्यार्थी प्रमाणपत्रमा मात्रै उच्च कौशल युक्त नबनी व्यवहारिक जीवनमा क्षमतावान् बनोस् भन्ने हो । यसको लागि हामी यहाँ वैदिक शिक्षा सहित शैक्षिक क्षेत्रमा अब्बल हुन नसकेकाहरुको लागि घरव्यवहारका लागि मात्रै भएपनि  दक्ष बनाउने छौं ।

विद्यार्थीमा हामीहरुमा विकास हुने संस्कार हामीले पढाएको र रटाएर उत्पन्न भएको विषय होईन । माता, पिता, गुरु र आचार्थमाथिको सम्मान संस्कृत विद्यापीठका विद्यार्थीहरुमा स्वतः उत्पन्न हुने विषयहरु हुन् । यसको लागि कम्तिमा पनि एक वर्ष गुरुकूलमा बसेको विद्यार्थीले आफू भन्दा सानालाई माया, ठूलालाई आदर सत्कार र आमा, बुबा र गुरुहरुप्रति सदा भक्तिभाव राखेकै हुन्छ । त्यसैले त हाम्रो दुई दशकसम्म पनि गुरुकूल प्रक्रियाले निरन्तरता पाउँदै आएको छ ।

हामी संस्कृत मात्रै नभएर अहिलेको युगमा अत्यावश्यक रहेको कम्प्युटर शिक्षाको पनि आवश्यकता पर्ने भएकोले हामीले कम्प्युटर शिक्षा विद्यार्थीहरुलाई जस्तो सुकै अवस्थासँग पनि जुधेर अघि बढ्न सक्ने उच्च कौशलका साथै त्यसको मार्गदर्शन समेत दिने गरेका छौं ।

वर्षाौदेखि बदलिएको छैन गुरुकूलमा गुरुपूजाको आस्था र विधी  
यतिराज सापकोटा
पूर्व विद्यार्थी एवं अध्यापक, श्री निवास संस्कृत विद्यापीठ
यस गुरुकूलमा हामीहरु अध्ययन गर्दादेखि आजको दिनसम्म आईपुग्दा गुरु पूर्णिमामा गरिने गुरु पूजनकार्यको विधीमा केही पनि परिवर्तन भएको छैन । पहिले पनि गुरुपूर्णिमाको दिन आफ्नो नित्यकर्महरु सकेर विभिन्न स्थानमा रहेका शिष्यहरु गुरुलाई भेट्नको लागि गुरुकूल आउने गरेका थिए । गुरुकूलमा अध्ययनरत विद्यार्थीहरुको लागि त यो पनि आवश्यक छैन । तर, दैनिक भेट भईरहने भएपनि गुरु सम्मानको लागि यो अझ विशेष दिन रहेकोले विशेष रुपमा मान्ने गरिएको छ ।

हामी गुरुपूर्णिमाको दिन विहानै गुरुकूलका सबै विद्यार्थीहरु आफ्नो नित्य क्रियाबाट निबृत्त भएर गुरु पुजनको तयारीमा संलग्न हुन्छन् । यथाशक्ति, यथासामग्री, माला आदि गरिएका पूजा सामग्रीलिएर गुरु समक्ष पुग्ने गर्दछन् । त्यसपछि अर्घ, अक्षता, चन्दन, वस्त्र, मिष्ठान्न आदि गुरु समक्ष समर्पित गरेर गुरुको पूजा गर्दछन् । त्यसपछि गुरुद्वारा शिष्यको उत्तररोत्तर प्रगतिको कामना गर्दै कुनै पनि अफ्टेरो र विपत्तिमा पनि आफ्नो अध्ययन कर्ममा अडिक रहने प्रेरणा दिँदै शुभ आशीर्वाद दिने प्रचलन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ