arrow

आर्थिक समृद्धिका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
kp-oli-pm.jpg

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक समृद्धिका आधार तयार पार्ने लक्ष्य पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण रहने बताएका छन्। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट इन्जिनियर संगठनको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले आर्थिक विकास र समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर अभियान शुरु गरेकाले त्यसलाई आत्मसात् गरेर अगाडि बढ्न इन्जिनियरहरुलाई आग्रह गरे।

राष्ट्र निर्माणको महाअभियान शुरु भएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकको अपेक्षा र मुलुकको चाहनालाई पूरा गर्न प्राविधिक जनशक्तिको अझ बढी योगदानको खाँचो रहेको उल्लेख गरे।

राजनीतिक रुपमा कार्यसूची सकिएपछि केही राजनीतिक शक्ति अनावश्यक बखेडा झिक्ने र सरकारलाई असफल बनाउन सकिन्छ कि भन्ने ध्याउन्नमा लागेको भन्दै प्रधानमन्त्रीले गलत व्यवहार र प्रवृत्तिलाई जनताले नै ठेगान लगाउने छन् भने।

उनले गलत उद्देश्यबाट निर्देशित भएर पैसा देशमा भित्रन नदिइनेसमेत स्पष्ट पारे। ‘गलत उद्देश्यका साथ गलत बाटोबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन’ प्रधानमन्त्री ओलीले भने ‘नेपाल भित्रिने पैसा बैंकमार्फत र उद्देश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ।’

प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाइ गर्न नहुने र गुणस्तरियतालाई पनि ख्याल गर्नुपर्ने बताए। देश अहिले विकासको महाअभियानमा भएकाले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए। सरकारलाई जनताले देश अघि बढाउने अधिकारसहितको अभिभारा सुम्पिएकाले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट गरे।

देश विकासका लागि जनतामा आत्मविश्वास बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। ‘अब जनतामा आत्मविश्वास बढाएर देश निर्माण गरिन्छ’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले दुई संगठनको एकीकरणपछि गठन भएको प्रोग्रेसिभ इन्जिनियरीङ एशोसिएशन नेपाललाई बधाईसमेत दिए। एकताबद्ध संगठनले देशको विकासको नक्सांकन पनि थप मजबुत ढंगले गर्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे। आधुनिक प्रविधिको प्रयोग गरेर एकाध वर्षभित्रै मुलुकलाई समृद्धिको मार्गमा डोहोर्याउने गरी सरकार दत्तचित्त भएर लागिपरेको उनको भनाइ थियो। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ