arrow

राजनीतिक विषय सकिएपछि गलत माग राख्न थालियो : अध्यक्ष दाहाल

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
prachanda8.jpg

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रयासरत् रहेका बेला गलत माग राखेर अप्ठ्यारोमा पार्न खोजिएको बताएका छन्। राजनीतिक कार्यसूची सकिएपछि साना, मसिना विषय समातेर प्रमुख प्रतिपक्षी दल ‘वैतरणी तर्न’ खोजेको हो भन्दै अध्यक्ष दाहालले भने, “नेपाली जनताले विवेकले निर्णय गर्ने गरेका छन्। गलत काम गर्ने र गलत समयमा गलत माग राखेर सरकार असफल बनाउँछु भन्ने कोही कसैले सोचेको छ भने त्यो सपना पूरा हुँदैन।”

राजनीतिक विषय सकिएपछि अनावश्यक बखेडा झिकिएको र गलत संस्कारको विकास गरिएको भन्दै उनले काम शुरु नहुँदै परिणाम खोज्ने प्रवृत्तिसमेत घातक रहेको स्पष्ट पारे। निर्वाचनबाट पराजित भएपछि नेपाली काँग्रेसले कम्युनिस्टको सरकारले काम गर्न नसकुन् भनेर अनेक निर्णयहरु गरेको बताउँदै त्यसले गलत सन्देशसमेत दिएको स्पष्ट पारे।

“शेरबहादुरजीको नेतृत्व गरेको सरकारले गरेको निर्वाचनबाट कम्युनिष्टले बहुमत ल्याएको हो। आज उनीहरु नै अधिनायकवाद ल्याउन लागे भनिरहनु भएको छ। कम्युनिस्टको सरकारले काम गर्न नसकोस् भनेर अनेका अनेक निर्णयहरु गरिएको र त्यसले राज्यको ठूलो धनराशी खर्च भएको छ” अध्यक्ष दाहालले भने।

अध्यक्ष दाहालले गलत आलोचनाभन्दा पनि वैज्ञानिक र वस्तुवादी ढंगले आएका आलोचनाको स्वागत गर्ने बताए। उनले विज्ञानमा आधारित विकास र समृद्धिमा नेकपाले जोड दिने स्पष्ट पारे। उनले भनर्, “वैज्ञानिक विचारको बलमा जनताको मन जितेर दुईतिहाईको सरकार बनाएका छौँ र हामी समाजवादका यात्रामा जानेछौँ।”

उनले विश्वमा स्थापित भएको लोकतान्त्रिक विधिका आधारमा र अन्तर्राष्ट्रिय मान्यताभन्दा पनि नेपाली स्वरुपको समाजवादको यात्रामा नेकपाको सरकार जाने बताए। विकास, निर्माण र समृद्धिका लागि इन्जिनियरहरुले प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै अध्यक्ष दाहालले सकारात्मक सुझाव दिएर सरकार र पार्टीलाई मार्गदर्शन गर्न आग्रह गरे।

उनले बिना विवाद दुई वटा संगठन एकीकरण गर्न सफल भएकामा बधाईसमेत दिए। दुई पार्टीबीच एकता भएर नेकपा गठन भएपछि पहिलो पटक पेशागत संगठनको रुपमा रहेको इन्जिनियर संगठनको एकता भएको हो। तत्कालीन एमाले निकट ‘पोग्रेसिभ इन्जिनियर एसोसिएशन नेपाल’ र तत्कालीन माओवादी केन्द्र निकट ‘नेपाल इन्जिनियर संगठन’बीच एकता भई ‘प्रोग्रेसिभ इन्जिनियर एशोसियशन नेपाल’ नामक संगठन बनेको छ।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र स्थायी समिति सदस्य पम्फा भुसालगायतको सहभागिता थियो। एकतापछि शम्भुबहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय सचिवालय र ९५ जनाको केन्द्रीय समिति गठन भएको छ। यस्तै महासचिवमा हरि पराजुली चयन भएका छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ