पाल्पामा नेकपाका उमेदवारलाई हराएर काँग्रेसले जीतेको यो चुनाव
प्रकाशित २०७५ साउन १२ शनिबार
564
Shares
पाल्पा। देशमा नेपाल कम्युनिस्ट पार्टीको दुईतिहाई बहुमतको शासन रहेका बेला पाल्पामा भने एउटा निर्वाचनमा प्रतिपक्षी नेपाली कांग्रेसले शानदार जित हात पारेको छ।
शनिबार भएको पाल्पा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा कांग्रेसनिकट लोकतान्त्रिक धारका कमलकृष्ण कार्कीले शानदार जित हात पारेका हुन्।
शनिबार भएको निर्वाचनमा कार्कीले ९९ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत जीवन बहादुर थापाले बताए। उनका निकटतम प्रतिस्पर्धी सुजन श्रेष्ठको २० मतमात्र आएको छ। १ सय २२ मत खसेकोमा ३ मत बदर भएको थियो।
उपाध्यक्षमा निर्वाचित कार्कीलाई नेपाली कांग्रेस र श्रेष्ठलाई नेकपा निकटका व्यवसायीहरूको समर्थन रहेको थियो।
उद्योग उपाध्यक्ष राजुप्रसाद श्रेष्ठको उच्च रक्तचापका कारण निधन भएपछि रिक्त रहेको उक्त पदमा निर्वाचन भएको हो। निर्वाचित कार्कीको पदावधि एक वर्षको लागि मात्र हुनेछ।
गत जेठ १८ गते हुमिन दुर्घटनमा परी मृत्यु भएका एसोसिएटस् सदस्य विष्णुमान बज्राचार्यको स्थानमा सुरेश कर्माचार्यको मात्र उम्मेद्वारी परेपछि कर्माचार्य निर्विरोध निर्वाचित भएका छन्।
यस्तै जेठ १८ गते दुर्घटनामा परी मृत्यु भएका कानुनी सल्लाहकार लोकप्रसाद ढकालको स्थानमा शिवप्रसाद देवकोटालाई नियुक्त गरिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद ढकालले बताए।