arrow

नेकपाका नेताको दादागिरी, समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेत घरैबाट पक्राउ

समाचार थियो, 'हरिसिद्धिको जग्गा कब्जा गर्न नेकपाको नेताको गिद्दे नजर, मन्त्रीका भतिजोद्वारा मालपोतका कर्मचारीलाई सरुवा गर्ने धम्की '

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
raju-basnet-arrest.jpg

ललितपुर। खोजतलास दैनिकका प्रधानसम्पादक राजु बस्नेतलाई प्रहरीले आइतवार विहानै नियन्त्रणमा लिएको छ। समाचार लेखेकै आधारमा प्रहरीले नियन्त्रणमा लिएको बस्नेतले बताएका छन्। बस्नेतलाई प्रहरी परिसर जाउलाखेलमा राखिएको छ। 

ललितपुर महानगरपालिका वडा नम्वर २७ को हरिसिद्धी इटा टायल कारखानाको २५ रोपनी जग्गा भुमाफिया परिचालित गरि राजनीतिक दलका नेताहरुले विक्री वितरण गर्न मालपोत कार्यालयका कर्मचारीहरुलाई व्यापक दवाव दिएको समाचार खोजतलास दैनिकमा शुक्रवार प्रकाशित गरेका बस्नेतलाई आइतवार विहानै नियन्त्रणमा लिइएको हो।

नेकपाका नेताहरु जनार्दन शर्मा, वलदेव खनाल, पम्फा भुसाल र राजकाजी महर्जनको संलग्नताको विषयलाई समेत समेटेर खोजमुलक समाचार प्रकाशित गरेका बस्नेतलाई प्रहरी लगाएर पक्राउ गरिएको हो। उनलाई प्रहरीले साइवर क्राइम मुद्धा चलाउने तयारी गरेको बुझिएको छ। 

सुचना विभागमा दर्ता भइ प्रेस काउन्सिलमा सुचिकृत भएका कुनै पनि समाचार संस्थालाई समाचार प्रकाशन र प्रसारण गरेकै आधारमा साइवर क्राइम मुद्धा लगाउन नपाउने मान्यता विरुद्ध केपी ओली नेतृत्वको सरकारका मन्त्री समेत रहेका नेकपा नेताहरुको दवावमा पत्रकार पक्राउ गर्ने कार्यको व्यापक आलोचना भएको छ। 

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सरकार आफ्ना कमजोरी र भ्रष्टाचारका कुराला२ लुकाउन सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमणमा उत्रिएकोमा खेद व्यक्त गरेका छन्। 

बस्नेत पक्राउ गरेको खोजतलासमा छापिएको समाचार जस्ताको तस्तै

ललितपुर महानगरपालिका—२७ वडाको हरिसिद्धि इटा टायल कारखानाको जग्गा भूमाफिया परिचिालित गरी राजनीतिक दलका नेताहरुले विक्री वितरण गर्न मालपोत कार्यालयका कर्मचारीहरुलाई व्यापक दवाव दिएको समचार छ।

हरिसिद्धि ईटा तथा टालय कारखानाको नाममा रहेको २५ रोपनी जग्गा व्यक्तिको नाममा पास गराउन भू—माफिया तथा राजनीतिक दलका राज्य संचालनको जिम्मेवारी लिएका राजनीतिक दलका नेताहरुले जिल्ला मालपोत कार्यालयलाई दिनहुँ दबाब दिइरहेका छन्।

भू—माफिया र राजनीतिक दलका नेताहरुले आवश्यक कागजात नपुर्‍याई जग्गा पास गर्न दबाब दिइरहेको मालपोत कार्यालयका कर्मचारीहरु बताउँछन्। राजनीतिक आडमा आएका व्यक्तिहरुको समूहले कार्यालयको काममा असर पर्ने गरी कार्यालय घेरेर आफ्नो निर्देशनअनुसार काम गर्न कर्मचारीहरुलाई दवाव दिइरहेको मालपोत कार्यालयका कर्मचारीहरुले गुनासो पोखेका छन्। ती कर्मचारीका अनुसार भू—माफियाहरुले कर्मचारीलाई कार्यालयमा मात्रै नभएर घरमा रहेका श्रीमती, छोरी, छोराहरुलाई समेत फोन गरी यदि यो जग्गा पास गर्न सहयोग नगरेको खण्डमा जे पनि हुने भन्दै धम्की दिनेसमेत गरेको बताएका छन्।

यता, कृषि तथा भूमिसुधार मन्त्रालयका मन्त्री बलदेव खनालका भतिज भनेर बताउने सुशिल खनालले कर्मचारीलाई ‘तँ को होस्, हामीले भनेको नमान्ने, तेरो तत्कालै सरुवा गरिदिन्छु’ कार्यालय नै थर्किने गरी आवाज निकाल्दै मालपोत अधिकृतलाई धम्की दिएका थिए।

मालपोत अधिकृत भिमप्रसाद गौतमका अनुसार ‘हामीलाई दैनिक रुपमा रोक्का भएको सो जग्गा पास गराउन दबाब दिइरहेका छन्, राजनीतिक व्यक्तिहरुको नाम जोडेर जग्गा व्यवसायीहरु आउँछन्,’ तर हामीले आवश्यक कागजपत्र पूरा नगरी पास गर्नै मिल्दैन।’ यदि उहाँहरुले भनेजस्तो गरे हामी अख्तियारको कठघरामा उभिने पक्का छ। त्यसैले यस्तो काम हामीहरुबाट हुँदैन।

हरिसिद्धिको नाममा मातपोत कार्यालय ललितपुरमा दर्ता कायम रहेका सो जग्गा बिक्री गरी अर्बौं रुपैयाँ कुम्ल्याउने दाउमा केशवप्रसाद तिमल्सिना, मिटरव्याजी वालकृष्ण घिमिरे (जोकर), पुरुषोत्तम बजगाई, प्रदेश सांसद राजकाजी महर्जन, वडा अध्यक्ष राजेश महर्जन, होप बहुउद्देश्यीयका व्यवस्थापक दिपेन्द्र दुलाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा एमाले ललितपुर जिल्ला नेता रामशरण शर्मा घिमिरे, राप्रपा राष्ट्रवादीका केन्द्रीय महामन्त्री श्यामकाजी तिमल्सिना, नेपाली कांग्रेसका जिल्ला सचिव भिमसेन घिमिरेलगायत रहेका यीबाट असन्तुष्ट रहेको व्यक्तिहरुले खोजतलास कार्यालयमै आएर बताएका छन्।

वालकृष्ण घिमिरे (जोकर) र पुरुषोत्तम बजगाई नेकपाका नेता जनार्दन शर्माका विश्वासिला पात्र हुन्। राज्यलाई धरासायी बनाउने गरी कमाएको अकुत सम्पत्ति जनार्दन शर्माले यिनै मिटर व्याजी घिमिरे र बजगाईंलाई लगानी गर्न दिएको बुझिएको छ। त्यस्तै, हरिसिद्धि इट्टा टायल कारखाना विक्री वितरण गर्ने योजनाकारका रुपमा रहेका र तमसुकमा समेत साछीमा सहीछाप गरेका प्रदेश सभा सांसद राजकाजी महर्जन अगाडि बढेका छन्। सांसद महर्जन र वडाध्यक्ष राजेश महर्जन नेकपाका नेता पम्फा भुसालकी प्रिय पात्र हुन्। हरिसिद्धि ईटा टायल कारखाना विक्री वितरण गरी चुनावमा भोट किनेको पैसा असुल्न संघीय सांसद भुषाल, जनार्दन शर्मा र प्रदेश सभा सांसद महर्जन मरिहत्ते गरेको लागिपरिरहेका छन्।

हरिसिद्धि ईटा टायल कारखानाको जग्गा कसरी कब्जा गर्न सकिन्छ भन्दै ललितपुरको एकान्तकुनामा रहेको प्रशान्ति पेट्रोल पम्पमा महँगो बिदेशी रक्सी खाँदै योजना बुन्ने गरेको प्रशान्तिकै एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए। स्मरणीय छ, गत बिहीबार प्रशान्ति पेट्रोल पम्पका सञ्चालक बालकृष्ण घिमिरे जोकरले होप बहुउद्देश्यीय सहकारी चापागाउँ दोबाटो, नमुना बचत तथा ऋण सहकारी, वल्र्ड भिजन बहुउद्देशी सहकारी, प्रतिभा बचत तथा ऋण सहकारी, सारथी बचत तथा ऋण सहकारीलगायतका सहकारीबाट करोडौं रुपैयाँ झिकेको राष्ट्रिय सहकारी बैंकका एक कर्मचारीले खोजतलासलाई बताए।

जिल्ला मालपोत कार्यालय ललितपुरले कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेख्दै हरिसिद्धि इटा तथा टायल र एन वि वात्रा कम्पनीको विवरण मागेको थियो। २०७५ वैशाख ७ गते कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरले पत्र पठायो । तर पत्रमा दुवै कम्पनीले वर्षौसम्म साधारण सभा नगरेको उल्लेख छ। कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार हरिसिद्धि इटा तथा टायल कारखाना र एन वि वात्रा हस्पिटल एण्ड रिसर्च सेन्टर दुवैले लामो समयदेखि वार्षिक साधारण सभा गरेको छैन।

कम्पनी ऐन २०६३ अनुसार हरेक वर्ष साधारण सभा गर्नुपर्छ। उक्त कुराको जानकारी कम्पनी रजिष्ट्रारको कार्यालयलाई गराउनुपर्छ। तर दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरणसमेत पेश गरेका छैनन्। दुवै कम्पनी अध्यावधिक नरहेको देखिन्छ। साधारण सभा नगरेपछि दुवै कम्पनीका संचालकसमेत वैद्यता नभएको देखिएको छ। हरिसिद्धि ईटा तथा टायल कारखानाका शेयरधनीहरूको कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनीको जग्गा र सम्पत्ति बिक्री गरी हिनामिना गरेको भनी सञ्चालक समिति विरुद्धसमेत कार्यालयमा पटक–पटक उजुरी दिएका छन्।

कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीलाई साधारणसभा गरी कम्पनी नियमपूर्वक संचालन गर्न निर्देशन समेत दिएको थियो। यसले गर्दा हरिसिद्धिका सहायक कम्पनी एन बि वात्राको नामको जग्गा तथा सम्पत्ति समेत उक्त कम्पनीको वैद्यता प्राप्त भएको छैन। संचालक समितिले विक्री वितरण गर्दा हरिसिद्धि ईटा तथा टायल कारखानाका अन्य शेयरधनीहरुलाई प्रतिकुल असर पुर्‍याउने पत्रमा उल्लेख छ।

यता एन वि वात्रा तथा यस कम्पनीको माउ कम्पनी हरिसिद्धि ईटा तथा टायल कारखाना लिमिटेड र प्रिफेब हाउस नेपाल प्रा लि तथा सनसाइन रियलस्टेट एण्ड डेभलपमेन्ट प्रा लि बिच जग्गा खरिद विक्री सम्बन्धी २०७३ पुस २५, २०७४ असोज १, असोज ३०, मंसिर १३, मंसिर १४ गते जग्गा खरिद विक्री सम्बन्धी सम्झौताहरु गरेको थियो।

हरिसिद्धि ईटा टायल कारखाना उद्योगको जग्गा उद्योग प्रयोजनबाहेक अन्यमा प्रयोग गर्न नपाउने सर्त निजीकरण गर्दा खेरी भएको थियो। तर, हरिसिद्धि ईटा टायल कारखानाको जग्गा व्यक्तिलाई बिक्री गर्न खोजेको यी दलालहरुको गतिविधिले देखाएको छ। स्रोतका अनुसार ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष राजेश महर्जनले एन बी वात्रा हस्पिटल एण्ड रिसर्च सेन्टरको नाममा ‘घरबाटो’ सिफारिस दिएको रहस्य के हो भनेर स्थानीयले खोजीनीति गर्न थालेका छन्।

वडाध्यक्ष महर्जनले सिफारिस दिएपछि प्रिफेब हाउजिङ कम्पनीलाई २५ रोपनी ८ आना जग्गामा प्लटिङ गर्ने बाटो खुलेको छ। एन बी वात्रा हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धि ईटा टायल कारखानाको भगिनी संस्था हो। स्थानीयले घरबाटो सिफारिस नदिन वडा कार्यालयलाई बारम्बार खबरदारी गर्दा पनि मोटो रकम कुम्ल्याएकै कारण वडाध्यक्ष महर्जनले सिफारिस दिएको स्थानीयको आरोप छ।

निजीकरणको नीति विपरीत सबैतिरबाट विरोध हुँदाहुँदै त्यस क्षेत्रबाट निर्वाचित भएका संघीय सांसद पम्फा भुषाल, प्रदेश सांसद राजकाजी महर्जन तथा वडा अध्यक्ष राजेश महर्जनसमेत मौन रहनु उनीहरुको प्रत्यक्षरुपमा संलग्नता रहेको बुझ्न गाह्रो छैन।

२०२१ मा स्थानीय किसानसँग प्रतिरोपनी १५ सयका दरले ४ सय १२ रोपनी जग्गा अधिकरण गरेको थियो। अधिकरणको उद्देश्यविपरीत हरिसिद्धि ईटा टायल कारखानाले स्थानीयको विरोध बाबजुद जग्गा बिक्री गरेपछि स्थानीय बासिन्दा आन्दोलनमासमेत उत्रिएका थिए। तर हरिसिद्धि ईंटा टायल कारखानाले स्थानीयको विरोधको बाबजुद पनि प्रिफेब हाउजिङ कम्पनीलाई कौडीको भाउमा २५ रोपनी ८ आना जग्गामा विक्री गर्न लागेपछि अहिले प्रत्यक्षरुपमा आँखा गाड्न नेकपाका नेता जनार्दन शर्मा, पम्फा भुषाल, राजकाजी महर्जन, नेका नेताच भिमसेन घिमिरेलगायत राजनीतिक दलका शिर्ष नेताहरु लागिपरेका छन्। नेपाली कांग्रेसको सरकारले २०४९-५० सालमा कौडीको मूल्यमा निजीकरण गरेका उद्योगहरू भ्रष्ट मालिकहरूले ती उद्योगहरू खरानी पार्न सफल भएका छन्।

उद्योग विस्तार गर्ने, गुणस्तरीय उत्पादन बढाउने, रोजगारी बृद्धि गर्ने जस्ता महत्वपूर्ण शर्तका आधारमा खर्बौंका मेशिनरी सामानलगायत खर्बौं रुपैयाँ अहिलेको मूल्यांकनअनुसारको जग्गाजमिन निजीकरणका नाममा कौडीको भाउमा विक्री गरिएको थियो । तत्कालिन भ्रष्ट नेताहरुले अर्बौं रुपैयाँ हसुरेर व्यापारीहरुलाई बिक्री वितरण गरेका थिए। तत्कालिन प्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले त्यसबखत मित्रराष्ट्रहरूले दानमा दिएका आधारभूत आवश्यकताका उद्योगहरू हरिसिद्धि ईटा टायल कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज उद्योग, हिमाल सिमेन्टलगायतका उद्योगहरु निजीकरण गरेको थियो।

नेपाली कांग्रेसको सरकारले ती अर्बौं मूल्य पर्ने एक दर्जन उद्योगहरू निजीकरणको नाममा विक्री गरेको केही समयपछि नै खरिदकर्ता मालिकहरूबाट ती उद्योगहरु बन्द गरी उद्योगमा भएको मेसिनरी सामान र जग्गा विक्री गरी आफ्नो लगानीको दोब्बरतेब्बर फाइदा गरी विक्री वितरण गरी खरानी पारेका थिए। अहिले उद्योग र मेशिनरी सामान कहाँ गए रु त्यसको खोजीनीति राज्यले गरेको छैन।

निजीकरणका नाममा देश लुट्नेहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कुनै कारवाही गर्नेतर्फ चासो देखाएको छैन। नेपाली जनताका नाममा आएका एकदर्जन महत्वपूर्ण उद्योगहरू निजीकरण भएपछि त्यसको अवस्थाका बारेमा संवैधानिक अंग अख्तियार र सरकारका कुनै पनि निकायले चासो नदिनु देश लुट्नेहरूलाई छुृट दिएको मान्न सकिन्छ भने हजारौं मजदुरहरुको रोजीरोटी खोजिएको प्रत्यक्षरुपमा देख्न सकिन्छ।

निजीकरण भएका महत्वपूर्ण उद्योगहरू सरकारले वेवास्ता गरेपछि ती निजीकरण भएका उद्योगहको नाममा रहेको अर्बौंको जग्गा नै बिक्री गर्दा पनि सरकार मूकदर्शक छ। हरिसिद्धि इँटा टायल कारखानाले निजीकरण गर्दाको सर्त विपरीत २५ रोपनी ८ आना जग्गा प्लटिङ गर्ने कम्पनीलाई बिक्री गर्न लाग्नुले र यसमा राजनीतिक दलका नेताहरुको समेत सम्लग्नता देखिनुले अब यस्ता नेताहरुबाट राज्यले के आशा गर्ने भन्दै सर्वसाधारण जनताहरु निरास बन्न थालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ