समाचार लेखेकै आरोपमा पक्राउ गरिएकोमा प्रेस युनियनको आपत्ति
प्रकाशित २०७५ साउन १३ आइतबार
254
Shares
काठमाडौं । नेपाल प्रेस युनियनले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । समाचार लेखेकै आरोपमा खोजतलास दैनिकका प्रधानसम्पादक राजु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिइनुले प्रेस स्वतन्त्रताको उलंघन भएको भन्दै युनियनले आपत्ति जनाएको हो ।
आइतबार युनियनका महासचिव अजयबाबु सिवाकोटीले सुचना विभागमा दर्ता भइ प्रेस काउन्सिलमा सुचिकृत भएका कुनै पनि समाचार संस्थालाई समाचार प्रकाशन र प्रसारण गरेकै आधारमा साइवर क्राइम मुद्दा लगाउन नपाउने मान्यताविरुद्ध पत्रकार पक्राउ गर्ने कार्यमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
सरकारले आफ्ना कमजोरी र भ्रष्टाचारका विषयहरु लुकाउन सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमणमा उत्रिएको सो विज्ञप्तिमा उल्लेख छ । सरकार एक पछि अर्को गर्दै विभिन्न वहानामा वा विचार, सिद्धान्त र आस्था नमिलेकै आधारमा संचारकर्मी र संचारमाध्यममाथि दमन गर्नका लागि उत्रिएको आरोप युनियनले लगाएको छ ।
प्रकाशित वा प्रशारित समाचारका बारेमा आफूलाई असहमति भए नेपाल प्रेस काउन्सिल मार्फत खण्डन प्रकाशित गर्ने वा अन्य कानुनी उपचार हुँदाहुँदै संचारकर्मीलाई पक्राउ गर्ने र साइबर क्राइमको मुद्दा चलाउनेजस्ता गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक घटनाले सिंगो नेपाली प्रेस माथि वा प्रेस स्वतन्त्रतामाथिको नाङ्गो आक्रमण भएको नेपाल प्रेस युनियनको ठहर छ ।
साथै युनियनले घटनाको सत्यतथ्य छानविन गरी पक्राउ परेका संचारकर्मी राजु बस्नेतलाई विना शर्त रिहाइ गर्न नेपाल प्रेस युनियनले माग गरेको छ ।
ललितपुर महानगरपालिका वडा नम्वर २७ को हरिसिद्धी इटा टायल कारखानाको २५ रोपनी जग्गा भूमाफिया परिचालित गरि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले विक्री वितरण गर्न मालपोत कार्यालयका कर्मचारीहरुलाई व्यापक दवाव दिएको समाचार प्रकाशित गरेको भन्दै खोजतलास दैनिकका प्रधानसम्पादक राजु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।