arrow

अमेरिकाको निगरानी बढाउन अर्जेन्टिनाको आकाशमा चिनियाँ दबदबा

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
china.png

काठमाडौं । चीनले अर्जेन्टिनाको मरुभुमीमा ठुलो एन्टेना तथा टावर निर्माणका साथै उसको आकाशमा ४५० टनबराबरको अन्तरिक्ष स्टेसन निर्माण गरेको छ । यो स्टेसन चिनियाँ सेनाले बनाएको हो । 

दक्षिण अमेरिकामा निर्माण गरिएको यो केन्द्र चिनियाँ स्याटेलाइटको प्रमुख केन्द्र पनि हो । यो स्याटेलाइटको निर्माणले चीन अहिले प्रत्यक्षरुपमा अमेरिकाको राजनीतिक, आर्थिक तथा सामाजिक शक्तिलाई चुनौती दिने दिशामा अघि बढिरहेको देखिएको हो । गएको मार्च महिनादेखि यो स्टेसनको विषयमा काम सुरु गरिएको थियो र यसका लागि आफूहरु निकै उत्साहित रहेको अर्जेन्टिनाले बताएको छ । 

यद्यपि यो स्टेसन निर्माणको लागि गोप्य किसिमले सम्झौता हुनुले भने यस विषयमा केही आशंकाहरु देखिएका छन् । यो सम्झौता त्यतिबेला भएको थियो, जतिबेला अर्जेन्टिनालाई लगानीको ठुलो आवश्यकता थियो । यस्तोमा चिनियाँ अधिकारीहरु अमेरिकाको जानकारी बढीभन्दा बढी हासिल गर्नका लागि क्षमता विस्तारको मौका हेरिरहेका थिए । यस्तोमा अर्जेन्टिनामा पनि चीनको यस किसिमको प्रभावले कस्तो किसिमको खतरा उत्पन्न हुनसक्छ भन्ने विषयमा पनि चर्चा सुरु भएको छ । 

के यो अमेरिकाको कमजोरीले भएको हो ? 

अमेरिकाका एक प्रोफेसरले पछिल्लो समय चीन अर्थव्यवस्थाका साथै राजनीतिमा पनि व्यापक विस्तारको योजनामा अघि बढ्दै आफ्नो प्रभाव पनि व्यापक मात्रामा विस्तार गर्न सफल रहेको बताए । पछिल्लो एक दशकमा अमेरिकाले आफ्नो सहयोगी मुलुकहरुमा ध्यान दिनुभन्दा पनि पहिला एसियन मुलुकहरुमा ध्यान केन्द्रित गरेको उनको भनाइ छ । ओबामाको सरकारको पालामा अमेरिकाले आफ्नो रणनीतिको हिसाबमा एसियाली मुलुकहरुमा आफ्नो बलियो आर्थिक, सैन्य तथा कूटनीतिक सम्बन्ध बलियो बनाएका थिए तर ट्रम्पको प्रशासन आएसँगै भने एसिया तथा दोस्रो मुलुकहरुमा सुरक्षाको हिसाबमा अमेरिकाको बोझ बढेको भन्दै उक्त सहयोगहरु कटौती गर्ने तथा व्यापारयुद्ध बढाउने नीति अघि सारिएको हो । यसले अमेरिका थप कमजोर बन्न पुगेको विश्लेषकहरुको भनाइ छ । 

चीनको योजना 

परराष्ट्रविद्हरुका अनुसार चीन आफ्नो चतुर्‍याँइका साथमा ल्याटिन अमेरिकासम्म आइपुग्न सफल रहेको बताउँछन् । उसले आफ्नो व्यापारिक विस्तार व्यापक गरेको छ । केही मुलुकहरुमा आफ्नो प्रभाव बलियो बनाएको छ भने त्यसैअनुसारको योजनाहरु पनि सुरु गरेको छ । सैन्य सम्बन्धमा पनि चीन धेरै अगाडि बढिसकेको छ । यस्तोमा केही समयको अन्तराललाई हेर्ने हो भने चीनको विस्तार अत्यधिक मात्रामा भइरहेको देखिन्छ । 

चीनका लागि आफ्नो नीति बदल्दै मुलुकहरु 

पछिल्लो समय ल्याटिन अमेरिकामा व्यापक राजनीतिक परिवर्तन आएको देखिन्छ । नेताहरु चीनको माग पूरा गर्नका लागि आफ्नो नीतिमा नै परिवर्तनको लागि अग्रसर देखिएका छन् । जसको कारण अहिले ल्याटिन अमेरिकाको धेरैजसो क्षेत्रमा चीनको प्रभाव रहेको देखिन्छ । चीन र ल्याटिन अमेरिकी मुलुकहरुबीचको व्यापार गएको वर्ष दुई खर्ब ४४ अर्ब डलर पुगेको थियो । यो नतिजा अघिल्लो एक दशकको तुलनामा दोब्बरभन्दा पनि बढी हो । 

सन् २०१५ देखि अमेरिकालाई पछि पार्दै यो क्षेत्रमा चीन सबैभन्दा धेरै व्यापारिक सम्बन्ध भएको मुलुक बन्न सफल भएको छ । यो क्षेत्रमा चीनले अर्बौको लगानी गरेको छ । जसको कारण यो क्षेत्रका ठुला तेल कम्पनीहरुमा चीनको दबदबा कायम रहेको छ । जसमा इक्वेडरको ९० प्रतिशतको भण्डार पनि सामेल रहेको छ । चीनले भेनेजुयला र ब्राजिलजस्ता मुलुकहरुका सरकारी कम्पनीहरुलाई संकटबाट पार पाउनका लागि पनि महत्वपूर्ण सहयोग गरेको थियो । अर्जेन्टिनाको लागि पनि अन्तर्राष्ट्रिय क्रेडिट बजारको ढोका बन्द भएको फाइदा उठाउँदै आफ्नो हात बढाएको थियो । उसले अर्जेन्टिनासँग धेरे गोप्य सम्झौताहरु पनि गरिसकेको छ । जसले आगामी दिनमा अमेरिकामा निगरानी बढाउन उसलाई सहयोग पुग्नेछ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ