पन्ध्र-बीस हजार मान्छे मार्नेहरु प्रधानमन्त्री भैसके, रेशम चौधरीले जेल बस्नुपर्ने : महतो
सरकारले संविधान संशोधन नगरे त्यसको दबाई गर्न जानेका छौ
प्रकाशित २०७५ साउन १४ सोमबार
373
Shares
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश आन्दोलनताका नेता तथा कार्यकर्तालाई लगाईएको झुठा मुद्दा फिर्ता, बन्दी रिहाई गर्नपनि आफूहरुले दबाब दिएको बताएका छन् ।
सोमबार एक कार्यक्रममा उनले भने, ‘१५-२० हजार मान्छे मार्नेहरु प्रधानमन्त्री भैसके। उनीहरुलाई रेड कार्पेट ओछ्याईसके । यही हो लोकतन्त्र ? रेशम चौधरीलाई अहिलेसम्म सांसदको प्रमाणपत्र बुझ्ने वातावरण बनाईएन ? चौधरीले चाहिँ जेल बस्नुपर्ने ? सरकारको भनाई र गराईमा एकरुपता हुनुपर्छ । भन्ने एउटा अनि गर्ने अर्को गर्नुभएन ।’
उनले वर्तमान सरकारले काम नगरेकोमा आफूहरुको असन्तुष्ट रहेको बताए । उनले भने,‘सरकारसँग दुई तिहाई छ । हामी हाम्रो माग र सवालहरु पूरा गराउनको लागि दबाब दिईरहन्छौं । भर्खरै मात्रै पनि हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिमाईण्डर गराएका छौं । मुलुकको समस्या समाधान गर्नुहोस । दलित, आदिवासी, जनजाति, मधेशी जनताको सवालहरु संविधान संशोधनमार्फत हल गर्नुहोस भनेर दबाब दिएका छौं । अहिलेसम्म संविधानको पालना भएको छैन । जनताले नागरिकता पाएका छैनन् । जन्मसिद्ध नागरिकले पनि नागरिकता पाएका छैनन् ।’
सरकारलाई दिएको रिमाईण्डरपनि कुनै सुनुवाई नभए आफूहरु कडाईका साथ अल्टिमेट दिएर अघि बढ्ने उनको चेतावनी थियो । नेता महतोले नेपालले दुवै छिमेकी मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिँदै भने, ‘ हामीले भारत र चीन दुवै छिमेकीसँग सुमधुर सम्बन्ध राख्नुपर्छ । दुवै छिमेकीसँग हाम्रो नङ र मासुजस्तो सम्बन्ध छ। हामीले दुवैसँग अति विश्वसनीय सम्बन्ध राख्नुपर्छ । दुईवटै छिमेकीसँग निकटतम् सम्बन्ध राख्नुपर्छ ।’
काठमाडौंमा भारत र चीन कुन देशबाट पहिले रेल आउँछ त भनेर सोधेको प्रश्नमा उनले भने,‘ कुन रेल आउँछ, के–के आउँछ, रेल, जहाज, कहिले आउँछ भन्ने कुरा सरकारलाई सोध्नुहोस। जहिले आउँछ, आउँछ । जनताले हेरिरहेका छन्, विकास हुनु राम्रो कुरा हो ।’
सरकारलाई दिएको समर्थन फिर्ता तत्काल नलिने भन्दै उनले भने,‘सरकारलाई दिएको समर्थन अहिले फिर्ता हुँदैन । फिर्ता लिनेबारे हाम्रो पार्टीले अहिलेसम्म कुनै योजना बनाएको छैन । यो सरकार दुई तिहाईको हो । संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं । हामी अहिले पर्ख र हेरको अवस्थामा छौं ।’