arrow

चार दिनपछि छोरीलाई दागबत्ती दिँदै यज्ञराजले गरे हत्यारालाई कारबाहीको माग

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
nirmala-panth.jpg

भीमदत्तनगर । गत शुक्रबार राति हत्या गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको सोमबार बिहान महाकाली नदीमा अन्त्येष्टि गरिएको छ ।

किशोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भीमदत्तनगरका विभिन्न संघ-संगठन र नागरिक समाजले शनिबार सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राखी आन्दोलन थालेका थिए ।

शनिबार बिहान भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा किशोरीको शव भेटिएको थियो । सोही दिन प्रहरीले शव महाकाली अञ्चल अस्पताल पुर्‍याएर परीक्षणसमेत गराएको थियो ।

घटनापछि आक्रोशित स्थानीयले भीमदत्तनगर बजारमा प्रदर्शन गर्दै हत्यारालाई कारबाहीको दायरामा नल्याएसम्म किशोरीको शव बुझ्न मानेका थिएनन् । प्रहरीले उक्त घटनामा गम्भीर छानविन नगरेको भन्दै स्थानीयवासी बढी आक्रोशित बनेका हुन् ।

किशोरीका हत्याको बिरोधमा कञ्चनपुरसँगै कैलालीमा समेत विद्यार्थीले प्रदर्शन गरेका छन् । भीमदत्तनगरपालिका कार्यालयमा समेत आन्दोलनरत पक्षले आक्रोश व्यक्त गर्दै आएको छ । शनिबारयता विभिन्न स्थानमा आन्दोलनरत पक्ष र प्रहरीबीच सामान्य झडपसमेत भएका छन् ।

सोमबार बिहान किशोरीको अन्त्येष्टिका लागि उनका आफन्त, गाउँलेसँगै प्रदेश नं ७ का प्रदेशसभा सदस्य प्रकाश रावल, भीमदत्तनगरपालिकाका प्रमुख सुरेन्द्र विष्टलगायत स्थानीय तहका प्रतिनिधिहरु पुगेका थिए ।

 छोरीलाई दागबत्ती दिँदै किशोरीका बुबा यज्ञराज पन्तले हत्यारालाई कारबाहीको मागसमेत गरे ।  किशोरीका हत्यापछि सर्वत्र विरोध हुनुका साथै अहिलेसम्म भीमदत्तनगरको स्थिति सामान्य हुन सकेको छैन ।

त्यसैगरी घटनाबारे अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि भीमदत्तनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।

हत्याको छानबीनका लागि सिआइबीबाट प्रहरी नायव उपरीक्षक अंगुर जिसी नेतृत्वको तीन सदस्यीय टोली यहाँ आइपुगेको हो । कञ्चनपुर प्रहरीसित समन्वय गरेर टोलीले काम थालिसकेको जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ