अमेरिका तर्साउन बेलायतसँग चीनको स्वतन्त्र व्यापार सम्झौता
प्रकाशित २०७५ साउन १४ सोमबार
452
Shares
एजेन्सी। चीनले बेलायतसँग स्वतन्त्र व्यापार विस्तारको प्रस्ताव अघि सारेको छ। पछिल्लो समय युरोपियन युनियन (ईयू) बाट बाहिरिने क्रममा रहेको मुलुकसँग चीनले व्यापारिक सुधारको योजना अघि सारेको हो।
पछिल्लो समय अमेरिकासँग ठुलो व्यापारिक तनावको सामना गरिरहेको मुलुकको लागि बेलायतसँगको व्यापार निकै महत्वपूर्ण हुने बताइएको छ।
चीन अमेरिकाले सुरु गरेको व्यापारयुद्धबाट पार पाउनका लागि संघर्ष गरिरहेको छ। चीनले शोषण गरिरहेको भन्दै अमेरिकाले चीनबाट आयात हुने केही सामग्रीहरुमाथि कर बढाउने निर्णय गरेको थियो।
सोही अनुसार चीनले पनि कर बढाएर जवाफ दिएको थियो। यसले दुई मुलुकहरुको बीचमा व्यापकमात्रामा आर्थिक समस्या बढेको देखिएको छ। चीनको अमेरिकासँगको व्यापार नाफा तीन खर्ब ५० अर्ब अमेरिकी डलरमा रहँदै आएकोमा अमेरिका त्यसलाई दुई खर्बभन्दा पनि कममा राख्ने योजनामा अघि बढिरहेको हो।
विशेषगरी चीनबाट आयात हुने उच्च प्रविधिका सामग्रीहरुको व्यापारले अमेरिकाको अर्थतन्त्र कमजोर बनेको अमेरिकाको आरोप रहँदै आएको छ। बेलायती अधिकारीहरुसँगको भेटको क्रममा चिनियाँ काउन्सिलर वाङ यिले दुवै मुलुकहरु एक अर्काको मुलुकमा लगानी बढाउनका लागि सहमत भएको बताएका थिए।
आगामी दिनमा दुई मुलुकहरुको बीचमा व्यापारिक सम्बन्ध सुधारको लागि यो सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकारीहरुले विश्वास व्यक्त गरेका छन्। चीनको राजधानी बेइजिङमा बेलायती अधिकारीहरुसँगको भेटपछि दुवै मुलुकका अधिकारीहरुले यो भेटवार्ता निकै फलदायी रहेको बताएका हुन्।
दुवै मुलुकका अधिकारीहरुले चीन र बेलायतजस्ता मुलुकहरु दुवै एकै स्थानमा रहेर अमेरिकाको व्यापारयुद्धको नीतिको जवाफ दिनुपर्ने बताएका छन्। अमेरिकाले अहिले चीनबाट आउने थप चार खर्ब ५० अर्ब डलरबराबरको सामग्रीहरुमा कर बढाउने चेतावनी दिइरहेको छ। जसको कारण आफ्नो व्यापार विस्तार गर्दै अमेरिकाको कर बढाउने नीतिबाट पार पाउनका लागि ईयू तथा अन्य मुलुकहरुसँगको व्यापार बढाउने धुनमा चीन रहेको छ।अमेरिका र चीनको बीचमा देखिएको यस किसिमको अन्योलले विश्वको व्यापारिक क्षेत्रमा तनावको अवस्था सिर्जना गर्नसक्ने बताइएको छ।