स्वेच्छिक अवकाश रोजेका कर्मचारी भटाभट निवेदन फिर्ता लिँदै
प्रकाशित २०७५ साउन १५ मंगलबार
670
Shares
काठमाडौं । स्वेच्छिक अवकाश रोजेका ४ सय ६७ कर्मचारीले फेरि स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दिएका छन् । कर्मचारीहरु अहिले भटाभट फिर्ताको निवेदन दिन थालेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवकाशको निवदेन फिर्ता लिन समयसीमा तोकेको छैन । कर्मचारीले जहिलेपनि फिर्ता लिन सक्ने बताईएको छ ।
सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न भनेपछि अहिलेसम्म ४ सय ६७ जना कर्मचारीले फिर्ताको निवेदन दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले बताए ।
निवेदन दर्ता गराने दुई सचिवले समेत छन् । डा.सरोज पोखरेल र शम्भु कोइरालाले निवेदन दिएका हुन् । ६ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन फिर्ता लिएका छन् ।
अघिल्लो सरकारले कर्मचारीका लागि स्वेच्छिक अवकाश कार्यक्रम ल्याएको थियो । वर्तमान सरकारले एकै पटक धेरै कर्मचारीलाई अवकाश दिँदा आर्थिक भार थपिने भन्दै फिर्ताको आह्वान गरेको हो ।
सरकारले कर्मचारी नपुगेको अवस्थामा अनुभवी कर्मचारीलाई अवकाश दिँदा समस्या पर्ने भएकाले अवकाश फिर्ता लिने निधो गरेको हो । सरकारले आउने भदौबाट कर्मचारी समायोजन गर्ने छ ।
अघिल्लो सरकारले कर्मचारीहरु तल्लो तहमा खटिन नमानेको र समायोजनमा जान आनाकानी गरेको भन्दै स्वेच्छिक अवकाशको प्याकेज ल्याएको थियो ।
संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीका लागि अघिल्लो सरकारले स्वेच्छिक अवकाशको आह्वान गर्दा करीब नौ हजार ६ सय ७१ कर्मचारीले निवेदन दर्ता गरेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको जेठ १९ देखि अवकाशका निवेदन दिएका कर्मचारीको निवेदन फिर्ता गरिरहेको छ । अहिलेको सरकारले स्वेच्छिक अवकाश कार्यक्रम रोकेको भन्दै केही कर्मचारीले सर्वाेच्च अदालतमा रिट समेत हालेका छन् ।