प्रधानन्यायाधीश सुनुवाई प्रकरण : यो कुरालाई यसरी चर्कोरुपमा उठाउन आवश्यक थिएन- आचार्य
प्रकाशित २०७५ साउन १५ मंगलबार
275
Shares
काठमाडौं । संविधानविद निलाम्बर आचार्यले संसदीय सुनुवाई विशेष समितिलाई काम गर्न दिनुपर्ने बताएका छन् । हाम्राकुरासँग उनले भने, ‘प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाईबारे बाहिर धेरै कुरा आएका छन् । यो अनावश्यक हो । आवश्यक कुरा संसदीय सुनुवाई समितिलाई काम गर्न दिनु र समितिको निर्णय पर्खिनु नै हो ।’
उनले संसदीय सुनुवाई समितिको निर्णयअघि भएका कुनैपनि टिप्पणी वा तर्कले अर्थ राख्दैन, –भनेका छन् ।बाहिर नेताहरु वक्तव्यबाजी गरिरहेका छन्, उनले अगाडि भने, ‘सत्ताधारी नेकपा र विपक्षी कांग्रेसका नेताहरु बोलिरहेका छन् । संसदीय समितिले निर्णय नदिई किन बोलिरहेको मैले बुझ्न सकेको छैन ।’
प्रक्रिया र कानुनी उपचार समितिले नै जान्ने हो, उनले थपे, ‘संसदीय समितिमा सबै पक्षहरु छन् । उहाँहरुले प्रश्न उठाउने मात्रै होईन । जोशीलाई सफाई दिने ठाउँ पनि राख्नु पर्दछ । उहाँहरुले पनि विभिन्न परामर्श गर्ने ठाउँ रहनुपर्छ ।’ यो कुरालाई यसरी चर्कोरुपमा उठाउनु पर्ने आवश्यकता नै छैन । उनले भनेका छन्, ‘संसदीय सुनुवाई समितिको निर्णय आएपछि चित्त बुझे नबुझेको बारे कुरा गर्न सकिन्छ । चुनौती दिन सकिन्छ ।’
काे-काे छन् संसदीय सुनुवाई समितिमा ?
संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।
यस्तै, राष्ट्रिय सभाबाट जितेन्द्र देव, सुमनराज प्याकुरेल र नन्दा चपाईं रहेका छन् । संसदीय सुनुवाइ समितिमा दलीय रुपमा भन्दा, प्रतिनिधिसभाबाट नेपाल कम्युनिस्ट पार्टीबाट ७ जना, नेपाली कांग्रेसबाट ३ जना, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबाट एक-एक जना र राष्ट्रिय सभाबाट नेकपाका दुई र कांग्रेसका एक सदस्य छन् ।