arrow

प्रधानमन्त्री र कामुप्रधानन्यायाधीशबीच बालुवाटारमा छलफल, दुवै दवावमा 

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
pradhanmantri-niwas-baluwatar.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कामुप्रधानन्यायाधीश दीपकराज जोशीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । 

बुधबार बिहान ओली र जोशीबीच छलफल भएको हो । छलफलमा दुवै जना गम्भीर रुपले प्रस्तुत भएको बुझिएको छ । प्रधानमन्त्री ओली र कामुप्रधानन्यायाधीश जोशी दवावमा रहेका छन् । 

विशेषगरी संचारमाध्यममा आएका समाचारले दुवैलाई झस्काएको छ । ओलीले बोलीमा ठेगान लगाउन नसक्दा जोशीले राजीनामा दिनुपर्ने भन्दै आलोचना खेप्दै आएका छन् । 

प्रस्तावित प्रधानन्यायाधीश जोशीको संसदीय सुनुवाई विशेष समितिमा सुनुवाई हुँदै गर्दा प्रधानमन्त्री र उनको पार्टीका केही नेताले जोशीलाई राजीनामा गरे हुन्छ भनेको कुराबारे जोशीले कुरा उठाएका छन् । 

त्यसैगरी संचारमाध्यममा जोशीको शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर उनीमाथि पनि नैतिक दवाव रहेको छ । जोशीले गरेका फैसलालाई लिएरसमेत टिप्पणी भएको छ । 

संचारमाध्यममा आएका यिनै विषयले गर्दा कसरी मध्यमार्गीबाट अगाडि बढ्न सकिन्छ भनी ओली र जोशीबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । 

जोशीको सुनुवाई गत बिहिबार भए पनि त्यसको निष्कर्ष अहिलेसम्म आएको छैन । संसदीय सुनुवाई समितिको बैठक स्थगित हुँदै आएको छ । बैठक बुधबार दिउँसो ३ बजेलाई डाकिएको छ । 

त्यसअघि नै निचोडमा पुग्नका लागि ओलीलाई दवाव बढेको छ । आफैले प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने अनि आफैले राजीनामा दिन सार्वजनिक कार्यक्रममा भनेपछि उनको द्धैध चरित्र स्पष्ट भएको भन्दै आलोचना भइरहेको छ । 

जोशीलाई प्रन्या नबनाउने हो भने नैतिकताका आधारमा ओलीले पनि राजीनामा दिनुपर्छ भनी सामाजिक संजालहरुमा दवाव सिर्जना गर्न थालिएपछि  ओली संयमित भएको बुझिन्छ । 

सुनुवाई समितिमा भएका १५ सदस्यमध्ये १० जना सत्ताधारी दलका सांसद भए पनि उनीहरु हाइकमाण्डकै इशारा कुरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ