आलोचनामा समय नखर्चन प्रधानमन्त्री ओलीलाई प्रदीप पौडेलको सुझाव
प्रकाशित २०७५ साउन १६ बुधबार
585
Shares
अर्घाखाँची। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफ्नो अमूल्य समय विपक्षी पार्टीहरुको आलोचनामा नखर्चन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् ।
बुधवार अर्घाखाँचीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले विपक्षी पार्टीहरुको आलोचनामा सबै समय खर्चेर कसरी समृद्ध नेपाल बन्छ भनी प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।
“प्रधानमन्त्री ओली राति दुई बजेसम्म नसुती समृद्ध नेपाल बनाउने योजना बनाएर बसेका भनर नसम्झनुहोला, उहाँ त भोली काँग्रेसलाई कुन उखान टुक्काले घोचपोच गर्न सकिन्छ भनेर सोचेर अनिदो बस्नु हुँदो रहेछ ” पौडेलले भने ।
नेपाली काँग्रेसले अहिले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह नगर्ने हो भने देशमा अधिनायकवाद हावी हुने पौडेलको दाबी थियो ।
पौडेलले सरकारका पछिल्ला काम कार्वाहीका कारण नेकपाका कार्यकर्ताहरु नै रुष्ट भएको दाबी गरे । “हामीले सरकारलाई निर्धक्क सय दिन सम्म काम गर्ने वातावरण दिएका थियौं, तर त्यस अवधिमा सरकारले प्रतिपक्षीलाई त के सत्तापक्षका कार्यकर्तालाई नै खुशी बनाउने काम गर्न सकेन” पौडेलले बताए ।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संविधान प्रदत्त हक खोस्ने, विश्वविद्यालयका प्राध्यापकलाई छापामार शैलीमा विमानस्थलबाटै पक्राउ गर्ने, चिकित्सकलाई अस्पतालबाटै अपहरण गर्ने, प्रश्न सोधेकै भरमा पत्रकारको जागिर खोस्ने, निषेधित क्षेत्र तोक्ने जस्ता काम गरेर वर्तमान सरकारले अधिनायकवादी चरित्र उदाङगो पारेको पौडेलले बताए ।
नीति तथा कार्यक्रम र बजेटमा आकाश जमीनको भिन्नता रहेको भन्दै उनले कम्युनिष्टरुको फोस्रा नाराले देश कहिल्यैं समृद्ध हुन नसक्ने ठोकुवा गरे। सोही अवसरमा पौडेलले अर्घाखाँची जिल्लाका प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरे।