arrow

पत्रकार थपलियाको निधन केएमसी अस्पतालको लापर्वाहीले भएको भन्दै प्रशासनमा उजुरी

पत्रकार थपलियाको श्रीमती गंगाले दिइन छानविनका लागि प्रशासनमा उजुरी

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
yadav-thapaliya.jpg

काठमाडौं । कान्तिपुर राष्ट्रिय दैनिकका सहायक वरिष्ठ उपसम्पादक तथा नेपाल पत्रकार महासंघ, नेपाल रिपब्लिक मिडियाका सदस्य यादव थपलियाको उपचारमा हेलचक्रयाइँको भन्दै उनको श्रीमती गंगा खतिवडाले छानविनका लागि माग गरेकी छिन् ।

आफ्नो श्रीमानको उपचारको क्रममा अस्पतालले एकपछिको अर्को रोगहरु बताउँदै गएपनि के रोगका कारण निधनको हो स्पष्ट पार्न नसकेको जनाउँदै उनले बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि निवेदन दिएकी हुन् ।

‘सामान्य अवस्थामा अस्पताल भर्ना गरेको बिरामीको ४८ घन्टा बित्न नपाउँदै निधन हुनुअनि डाक्टरले एकपछि अर्को रोग बताउँदै जाँदा उपचारमा हेलचक्रयाइँ भएको हामीलाई त्यतिबेलै लागेको थियो,’ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजलाई विपक्षी बनाउँदै खतिवडाले दिएको निवेदनमा भनिएको छ, ‘चिकित्सकहरूले बिरामीको निधनमा हामीलाई जे कारण भाइरल इन्फ्लुएन्जा भन्नुभएको थियो, परीक्षणका क्रममा त्यो असत्य साबित भएको छ, भाइरल इन्फ्लुएन्जा नेगेटिभ देखिएको छ ।’ 

उपचारमा संलग्न चिकित्सकहरूले सुरुमा सामान्य ज्वरो टाइफाइड भएको बताएको जनाउँदै असार १४ गते बिहान कलेजोमा संक्रमण देखिएको भन्दै ‘हाईकेएर’मा राखिएको उल्लेख छ । ‘त्यसपछि उहाँहरूले ‘टाइफाइड’ र ‘टाइफस’ नभएको र निमोनिया भएको बताउँदै बाहिरिनुभएको थियो,’ निवेदनमा भनिएको छ, ‘चिकित्सकले बोली फेरेर एकपछि अर्को रोग बताएपछि उहाँहरूले रोग पहिचान गर्न नसकेको वा लापरबाही गरेको भन्ने हामीलाई आशंका लागेको थियो।’

सिद्धि पोलिक्लिनिक, चारखाल डिल्लीबजारका डा दिपेश शाक्यको सल्लाहअनुसार काठमाडौं मेडिकल कलेज पुगेको उल्लेख गरिएको छ । असार १४ गते अपराह्न नै चिकित्सकहरूले भाइरल इन्फ्लुएन्जाको आशंका गर्दै परीक्षणका पूर्व नै त्यसको औषधी चलाएको उल्लेख गरिएको छ । 

बिरामीको उपचारमा कुनै कमी नगर्न चिकित्सकहरूलाई पटक पटक आग्रह  गरेको आवश्यक परे अर्को अस्पताल लैजान आफूहरू तयार रहेको जानकारी गराएपनि अस्पतालले उचित उपचार गरिरहेको आश्वासन दिएको जनाइएको छ । ‘आखिर, असार १५ गते उहाँको निधन भयो । गम्भीर प्रकारको भाइरल इन्फ्लुएन्जाका कारण उहाँको निधन भएको चिकित्सकहरूको दाबी रहन गयो,’ खतिवडाले दिएको निवेदनमा भनिएको छ ।

बिरामीको निधनपछि अस्पताल प्रशासनले विभिन्न बहाना बनाउँदै रिपोर्ट दिनलाई आनाकानी र अस्वीकार गर्नुले उपचारमा त्रुटी रहेको कुरालाई थप बल पुर्याएको उनले दाबी गरेकी छिन् । बिरामीको निधनपछि पटकपटक उपचारका क्रममा भएका परीक्षणका विवरणहरू, प्रयोग गरिएका औषधि साथै ‘नर्सिङ केयर’को रिपोर्ट उपलब्ध गराउन आग्रह गरे पनि सुनवाइ नभएको जनाएकी छिन् ।

‘साउन ९ गते भने अस्पताल प्रशासनले रिपोर्ट दिन ठाडै अस्वीकार गरेपछि डाक्टरको हेलचक्रयाइँले मृत्यु भएको हो भन्ने आशंका सत्य ठहरिएको छ,’ निवेदनमा भनिएको छ, ‘तसर्थ, मेरा श्रीमान् यादव थपलियाको के कारणले निधन भएको हो ? त्यसको सत्यतथ्य छानविन गरी यथार्थ विवरण सार्वजनिक गरिदिनुहुन अनुरोध छ ।’

आफु र आफ्नो परिवारले गुमाउनु जति गुमाइसक्यो, हुने क्षति भइसक्यो उल्लेख गर्दै उनले भनेकी छिन्, ‘अस्पतालका चिकित्सकहरूको लापरबाहीले भविष्यमा फेरि अर्को व्यक्तिले ज्यान गुमाउन नपरोस्, हाम्रो परिवारले जस्तै क्षति कसैले पनि भोग्न नपरोस् भन्दै यो निवेदन पेश गरेकी छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ