arrow

झापामा ‘हात्ती कोरिडर’ बनाउन शुरु

logo
चन्द्रकला भण्डारी,
प्रकाशित २०७५ साउन १७ बिहिबार
Chitwan_Land_Elephant.jpeg

भद्रपुर ।  मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना थालिएको छ ।
झापाको दक्षिणी गाउँपालिका कचनकबलदेखि उत्तरी बाहुनडाँगीसम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भूभागलाई समेटेर कोरिडर निर्माण गरिने भएको हो ।

हात्ती कोरिडर बनेपछि जङ्गली हात्तीले मानव वस्तीमा पसेर पहिलेजस्तो जनधनको क्षति नपुर्‍याउने आशा गरिएको छ । यसबाट त्यस भेगको जैविक विविधताको संरक्षण समेत हुनेछ ।
 
हात्ती कोरिडर निर्माणका लागि आर्थिक वर्ष २०७५-७६ मा संघीय सरकारले रु ६ करोड बजेट विनियोजन गरेको छ । आव २०७४÷७५ मा यही परियोजनाका लागि सरकारले निकासा गरेको रु २ करोड बजेट भने खर्च हुन नसकेर फ्रिज भएको थियो ।

सरकारले हात्ती नियन्त्रणका लागि बजेट र लाभान्वित क्षेत्रका दृष्टिले अहिलेसम्म सञ्चालन गरेको सबैभन्दा ठूलो परियोजना नै ‘हात्ती कोरिडर’ हो ।  यसअघि झापामा हात्तीबाट हुने क्षति रोक्न बाहुनडाँगीमा सौर्य घेराबेरा, सुरुङ बार, टुङ निर्माण लगायतका परियोजना सञ्चालन भइसकेका छन् ।
 
जिल्ला वन कार्यालय झापाका प्रमुख वन अधिकृत बोधराज सुवेदीका अनुसार २०६८ साल यता जङ्गली हात्तीको आक्रमणमा झापामा ३५ जनाले ज्यान गुमाइसकेका छन् र आक्रमणकारी नौ वटा हात्ती मारिएका छन् ।  तीन दशक अघि उत्तरी झापाको सीमावर्ती बाहुनडाँगीमा शुरु भएको हात्ती आतंक अहिले पूरै झापाभर फैलिएको छ ।  भारतको पश्चिम बंगालस्थित सुकुना नेशनल पार्क र आसामको कोक्राझारबाट हरेक वर्ष एक सयभन्दा बढी जङ्गली हात्तीको बथान बाहुनडाँगीबाट नेपाल पस्ने गरेको छ ।

झापाकै स्थानीय जङ्गलमा समेत १३ वटा रैथाने हात्ती बस्दै आएको जिल्ला वन कार्यालयले अनुमान गरेको छ । दिनभर जङ्गलमा बस्ने र रात परेपछि वस्तीतिर पसेर हात्तीले जनधनको क्षति पुर्‍याउने गरेका छन् ।

सबैभन्दा बढी क्षति पुर्‍याउँदै आएको बाहुनडाँगीमा सौर्य तारबार गरिएका कारण केही वर्ष यता त्यतातिर हात्ती प्रवेश गर्न सकेका छैनन् । तर, दक्षिण झापाको कचनकबल, बाह्रदशी र भद्रपुरमा रैथाने हात्तीको उपद्रो बढेको बढ्यै छ ।  झापाको कचनकबल, बाह्रदशी, हल्दिवारी, भद्रपुर, झापा, विर्तामोड, अर्जुनधारा, बुद्धशान्ति र मेचीनगरलाई हात्ती कोरिडरमा समेटिने भएको छ ।

सरकारले मानव हात्ती द्वन्द्व न्यूनीकरणका लागि ल्याएको कोरिडरको अवधारणाअन्तर्गत सर्भे कार्य पूरा भइसकेको छ । घेराबेराका लागि आगामी एक महिनाभित्र बोलपत्र आह्वान भइसक्ने राष्ट्रिय प्रकति संरक्षण कोषका सदस्यसचिव गोविन्द गजुरेलले जानकारी दिए ।

आगामी एक महिनाभित्र बोलपत्रको काम पनि सकिएपछि चालु आर्थिक वर्षभित्रै रु ६ करोडको काम हुने उनि बताउछन् । “हामीले बनाउन लागेको कोरिडर भनेको हात्तीले प्राकृतिक रुपमा हिँड्दै आएको बाटोको संरक्षण हो,” राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव गजुरेलले कोरिडरको अर्थ प्रष्ट्याउँदै भने – “उसले हिँड्ने मार्गमा अवरोध आयो भने बढी क्षति गर्छ भन्ने मान्यताका आधारमा कोरिडर बनाउन लागिएको हो ।”

हात्तीको आतंक एक नगर वा एक गाउँमा मात्र सीमित नभएर पूरै जिल्लाभर फैलिएकाले क्षति न्यूनीकरणका लागि सबैभन्दा वैज्ञानिक उपायका रुपमा हात्ती कोरिडर निर्माण गर्न सरकारलाई अनुरोध गरिएपछि अहिले काम शुरु भएको झापा क्षेत्र नं ३ का संघीय सांसद राजेन्द्र लिङ्देन बताउछन् ।
 
चालु आवमा प्राप्त बजेटले दक्षिणी झापाको जलथल जङ्गलबाट कोरिडरको निर्माण थालिएको छ । अर्को वर्ष आउने बजेटले क्रमशः उत्तरतर्फ निर्माण गर्दै लैजाने सरकारको नीति रहेको सांसद लिङ्देनले जानकारी दिए ।  हात्ती कोरिडर अन्तर्गत सरकारले झापाका ठूला दुई सरकारी वन जलथल र निचाझोडासहित दर्जनौं सामुदायिक वनलाई समेटेर हात्तीका लागि सुरक्षित आवतजावत गर्ने व्यवस्था मिलाउने छ ।

कैयौं पुस्तादेखि विचरण गर्दैआएको जङ्गली हात्तीले एउटा जङ्गलबाट अर्को जङ्गलमा ओहोरदोहोर गर्दा सहज हुने गरी बाटो दिन र मानव वस्तीलाई सुरक्षित बनाउन कोरिडर अन्तर्गत पहिलो चरणमा पूरै जङ्गल वरिपरि सौर्य घेराबेरा गरिने भएको छ ।  जङ्गल नभएका ठाउँमा खोलालाई कोरिडर मानेर हात्तीका लागि सहज बाटो निकालिने छ ।

हात्ती कोरिडरको निर्माणको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषले पाएको छ । कोषका सदस्यसचिव गजुरेलका अनुसार चालु आर्थिक वर्षमा ६ हजार ५०० हेक्टर क्षेत्रफल भएको जलथल वनमा सौर्य तारबार गरिने छ ।  “जङ्गललाई घेराबेरा गर्ने र वस्तीलाई सुरक्षित बनाउने कोरिडरको मुख्य लक्ष्य हो,” गजुरेलले भने – “सौर्य घेराबेराले हात्तीलाई रोक्छ भन्ने बाहुनडाँगीको अनुभवले बताइसकेको छ ।”

हात्ती कोरिडरको निर्माण भएपछि जङ्गल छेउछाउको मानव वस्ती सुरक्षित रहने र जङ्गलभित्र हात्ती पनि निर्वाध ओहोरदोहोर गर्न पाउने अपेक्षा गरिएको हात्तीपीडित गाउँपालिका हल्दिबारीका अध्यक्ष रविन्द्र लिङ्देन बताउछन् ।  हल्दिवारी गाउँपालिकाले स्थानीय बजेटबाट जङ्गल वरिपरि चक्रपथको निर्माण गत आर्थिक वर्षकै बजेटबाट शुरु गरिसकेको छ ।

“जङ्गल र वस्तीको सिमाना छुट्टिने गरी चक्रपथ बनाउन थालेका हौँ,” अध्यक्ष लिङ्देनले भने –“चितवन राष्ट्रिय निकुञ्जले झैँ हात्तीबाट हामी पनि पर्यटक आकर्षण गर्ने योजनामा लागेका छौँ ।”

हात्ती कोरिडरको मध्यभागमा अवस्थित चन्द्रगढी सामुदायिक वनका अध्यक्ष हीरा पोखरेलले हात्ती कोरिडर सफल भएमा झापाले वर्षौंदेखि भोग्दै आएको हात्तीको आतंक इतिहासमा सीमित हुने बताए ।
 
मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन्यजन्तु संरक्षणका क्षेत्रमा लामो सयमदेखि कार्यरत ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्की जङ्गलभित्र हात्तीले वनस्पति र फलफूल अघाउन्जेल खान पाउने वातावरण तयार नगरिएसम्म कोरिडर निर्माण गरेर मात्र जनधनको क्षति नरोकिने बताउछन् ।

“हात्ती मानिस पछिको बुद्धिमानी जनावर हो,” ग्रीन जेनेरेसनका अध्यक्ष कार्की भन्छन्  – “रेल र बसलाई बाटैबाटो कुदाए जस्तो हात्ती हिँड्दैन ।’  झापाको बाहुनडाँगीदेखि जलथलसम्म मात्र नभएर कोशीटप्पुसम्मै हात्ती कोरिडर बनाउनुपर्ने उनको सुझाव छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ