काठमाडौं । नेपालले सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्दै छ । जसमा न्यूजिल्याण्ड पनि सँगै जाेडिएकाे छ । न्यूजिल्याण्डका भू–मापन विज्ञ डा. क्रिस पियर्सन नेपालमै छन् । चार साताका लागि नेपाल आएका उनी अब अन्तिम समयसम्म बस्न सक्ने सम्भावना बढेर गएको छ ।
नेपालको नापी विभागलाई प्रारम्भिक चरणदेखि परियोजना निर्माण र तथ्याङ्क केलाउन मद्दत गर्नका लागि पियर्सन न्यूजिल्याण्डको विदेश मामिला तथा व्यापार मन्त्रालयको सहयोगमा नेपाल आएका हुन् ।
नेपालले उनलाई सहकार्य गर्ने अनुमति दिईसकेको छ । नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार यसमा न्यूजिल्याण्ड सरकारको फण्ड छ । पियर्सन कति बस्ने भन्नेबारे सम्झौता कसरी भएको छ, भन्ने कुराले अर्थ राख्ने सूचना अधिकारी ढकालले बताए ।
न्यूजिल्याण्डसँग नेपालको पूरानो सम्बन्ध छ । २०७२ वैशाखको गोरखा भूकम्पपछि सगरमाथाको उचाई करिब ३ सेन्टिमिटर घटेको भू-गर्भशास्त्रीहरुको अनुमान छ । सगरमाथाको अहिलेसम्मको आधिकारिक उचाई ८,८४८ मिटर हो ।
यो परियोजनामा जर्ज एभरेष्ट (जसले १९ औं शताब्दीमा सगरमाथाको सर्वेक्षण गरेका थिए) को जस्तै परम्परागत सर्वेक्षण विधि र आधुनिक ‘ग्लोबल पोजिसनिङ सिस्टम’ को उपयोग हुने बताईएको छ । उचाईको अन्तिम निष्कर्ष आउन एक वर्ष लाग्ने छ ।
सर एडमण्ड हिलारी र तेञ्जिङ नोर्गेले सगरमाथाको प्रथम सफल आरोहण गरेको ६५ वर्ष पुगेको छ । नेपालका लागि न्यूजिल्याण्डकी राजदूत जोआन्ना केम्पकर्सले, ‘१६ जेठ २०१० को ऐतिहासिक सफलता र त्यसले स्थापित गरेको न्यूजिल्याण्ड र नेपालको सम्बन्धलाई निरन्तरता दिंदै हामी नेपालको विकासका लागि प्रयत्नशील छौं । विश्वकै अग्लो चुचुरोको वास्तविक उचाई पत्ता लगाउने महानतम् कार्यमा सहयोग गर्न पाउनु हाम्रा लागि गर्वको कुरा हो’ भनेकी छन् ।
सगरमाथाको उचाई नाप्न न्यूजिल्याण्डको सहयोग र पियर्सनको विशेषज्ञता निकै उपयोगी हुने नापी विभागको विश्वास छ । पियर्सनले गोरखा भूकम्पपछिको पुनःनिर्माणका लागि नेपालको नापी विभागसँग मिलेर ‘सर्वे म्यापिङ प्रोजेक्ट’ को उदाहरणीय नेतृत्व गरिसकेका छन् ।
यस्तै, आधुनिक ‘पोजिसनिङ्ग सोलुशन निर्माता’अमेरिकी कम्पनी ट्रिम्बल एनजेड ले परियोजना अवधिमा एकत्रित तथ्यांक विश्लेषणका लागि आफ्नो जीपीएस प्रोसेसिङ सफ्टवेयर लाइसेन्स निःशुल्क उपलब्ध गराएको छ । कम्पनीले सगरमाथाको उचाई नाप्नका लागि दुई अत्याधुनिक ‘जीपीएस रिसिभर’ समेत नेपाललाई दिने भएको छ । तर, त्यो पैंचोको रुपमा ।